बाढीले झापामा निर्माणाधीन एसियन हाइवेका तीन डाइभर्सन बगायो, यातायात अवरुद्ध

शनिबार, १७ जेठ २०८२

झापा : अविरल वर्षापछि आएको बाढीले झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीन वटा डाइभर्सन बगाएको छ, जसका कारण पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा यातायात प्रभावित भएको छ।

काँकडभिट्टा–लौकही सडक योजना कार्यालयका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार कालीखोला (काँकडभिट्टा), ढुकुरे खोला (धुलाबारी) र चारआलीको एनिमल अन्डरपास क्षेत्रका डाइभर्सन बगाएका हुन्।

आज बिहान ११ बजेसम्म कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ भने चारआलीमा मर्मत कार्य जारी छ।

डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले सहायक सडकमार्ग प्रयोग गराएर यातायात व्यवस्थापन गरेको थियो।

इञ्जिनियर पन्तका अनुसार अनुमानित समयभन्दा १५ दिन अघि नै मनसुन सुरु भएकाले बलियो डाइभर्सन निर्माण गर्न समय नपुगेको हो। यद्यपि, बाँकी डाइभर्सन मर्मत गरी आजैदेखि यातायात सञ्चालन हुने र १५ दिनभित्र सबै कल्भर्ट क्षेत्रबाट दुई लेनको आवागमन सुनिश्चित गरिने बताइएको छ।

झापामा एसियन हाइवे स्तरोन्नतिको कार्य एसियाली विकास बैंकको सहयोगमा रु १० अर्बको लागतमा भइरहेको छ, जसको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ। नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले केही दिनअघि नै वर्षासँगै बाढीजन्य समस्या आउन सक्ने चेतावनी दिएका थिए।

योजना कार्यालयले वर्षात्को अवधिमा आकस्मिक समस्या समाधानका लागि ‘¥यापिड रेस्पोन्स टोली’ तयार राखिएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार