मधेश प्रदेश सरकारकी पूर्वसचिव डा.नम्रता सिंहसहित ३ जना भ्रष्टाचारी ठहर

एक वर्ष कैद र जरिवानाको फैसला

विहीबार, २२ जेठ २०८२

जनकपुर : विशेष अदालतले मधेश प्रदेश सरकारकी तत्कालीन कृषि सचिव डा.नम्रता सिंहसहित चार जनालाई कृषि अनुदानमा गरिएको एक करोड रुपैयाँको भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको छ।

अदालतले उनीहरूलाई एक वर्ष कैद, जनही २५ लाख रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुलउपर गर्ने फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यद्वय रामबहादुर थापा तथा तेजेन्द्र थापाको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो।

दोषी ठहर हुनेहरूमा सचिव सिंहसँगै कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन प्रमुख शंकरप्रसाद साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक लक्ष्मीनारायण यादव र फार्म नै सामेल छन्।

यसैअनुसार, लक्ष्मीनारायण यादवलाई पनि एक वर्ष कैद, २५ लाख जरिवाना, सोही बराबरको बिगो असुलउपर तथा थप ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरिएको छ।

दोषी ठहर भएकाहरूलाई एक लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन पनि आदेश दिइएको छ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा डा. सिंह लगायतमाथि नक्कली कागजातका आधारमा अनुदान रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

त्यस्तै, अन्य पाँच प्रतिवादी,अमरचन्द्र मण्डल, ब्रजेश कुमार साह, रञ्जित कुमार अधिकारी, अविनाश कुमार झा र विकास कुमार साहलाई भने पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार