कालभैरव मन्दिरमा भेटी तेब्बरले वृद्धि, पूर्वाधार विकासले धार्मिक पर्यटन फस्टाउँदै

आइतबार, ११ साउन २०८२

बागलुङ : सय पर्यटकीय तथा धार्मिक क्षेत्रमध्ये सूचीकृत बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि मन्दिरको आम्दानी तेब्बरले वृद्धि भएको छ । पूर्वाधार निर्माणमा तीव्रता आएपछि धार्मिक पर्यटकको आकर्षणसमेत बढेको छ ।

धार्मिक शक्ति पीठका रूपमा चिनिने कालभैरव मन्दिरमा २०७९ सालमा गुठी समिति सक्रिय बनेपछि दर्शनार्थीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

पहिले ठेक्कामार्फत सञ्चालित मन्दिरमा २०८०/८१ मा ९ लाख रुपैयाँ मात्र भेटी सङ्कलन भएकोमा समितिले पूजा सञ्चालन गरेपछि २०८१/८२ मा २७ लाख रुपैयाँ आम्दानी भएको गुठी समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले जानकारी दिए ।

“पूर्वाधार विकाससँगै दर्शनार्थी बढेका छन्, आम्दानी पनि तेब्बरले बढेको छ,” ढकालले भने, “ठेक्का प्रणालीले मन्दिर अस्तव्यस्त हुँदा अब गुठीमार्फत मन्दिर व्यवस्थित गर्न थालिएको हो ।”

कोरोना महामारीका बेला मात्र ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको मन्दिरमा पछिल्ला दुई वर्षमा ८० लाख रुपैयाँभन्दा बढी रकम पूर्वाधार निर्माणमा खर्च भइसकेको छ ।

सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, शौचालयलगायत संरचना निर्माण भएको र आगामी दिनमा थप सुविधा विस्तार हुने समितिले जनाएको छ । साथै, समितिको आन्तरिक स्रोतबाट ११ वटा व्यावसायिक सटर निर्माण गरिएकाले मन्दिरलाई स्थायी आम्दानीसमेत हुन थालेको छ । हाल सटर भाडा मार्फत मासिक ३० हजार रुपैयाँ आम्दानी भइरहेको छ ।

तीन सय वर्ष पुरानो मन्दिरमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा कालभैरवको स्थापना गरिएको मानिन्छ । भकुन्डे र रायडाँडाको सीमामा रहेको मन्दिरमा मङ्गलवार र शनिवार विशेष पूजा हुने गर्छ भने दसैँ र चैते दसैँमा ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गर्छन् ।

सडक स्तरोन्नति, प्रचारप्रसार र धार्मिक विश्वासका कारण कालभैरव मन्दिर पछिल्लो समय आन्तरिक धार्मिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।

समितिको पारदर्शी व्यवस्थापन र लेखा परीक्षण प्रक्रियाले पनि मन्दिरप्रति जनविश्वास बढाएको छ । गुठी समितिका कोषाध्यक्ष चन्द्र केसीले अब प्रत्येक वर्ष आय–व्यय सार्वजनिक गर्ने र मन्दिरलाई धार्मिक तथा पर्यटनको केन्द्रका रूपमा विकसित गरिने योजना सुनाए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार