धरानका मेयरले कानुनको अपब्याख्या गर्दै भ्रम छरेको वडाध्यक्षहरुको आरोप

विहीबार, ०७ बैशाख २०८०
कानुनको समेत अपब्याख्या धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले भ्रम फैलाएर धरानवासीलाई अलमलमा पारेको वडाध्यक्षहरुले आरोप लगाएका छन् । बिहीबार धरानमा पत्रकारहरुसँग बोल्दै वडाध्यक्षहरुले ‘मेयर हर्क साम्पाङले धराने जनतामा भ्रम फैलाइरहेको’ बताए । धरानको कार्यपालिका बैठकमा भएको विवाद सुल्झाउनका लागि बसेको राजनीतिक दलको बैठकमा साम्पाङले आफूबाट कमी कमजोरी भएको र वडाध्यक्ष र नगरप्रमुखबीच फाटो ल्याउन कर्मचारीले खेल खेलेको बताएको वडा १८ का अध्यक्ष प्रवीण राईले सुनाए । ‘बैठकमा गल्ती स्वीकार गरेको र मिलेर अगाडि बढ्न तयार हुनुभएका मेयर बैठकबाट बाहिरिनेबित्तिकै फेसबुकमा हामीलाई गाली गर्दै स्टाटस लेख्नुभएछ । अनि कसरी मेयरको विश्वास गर्ने ?’ उनले भने । त्यसबेला कार्यपालिकाको बैठकको विषयलाई लिएर मेयरले १० नम्बर वडाका वडाध्यक्षलाई स्पष्टीकरण सोधेको विषयमा पनि मेयर साम्पाङ अवाक भएको उनले बताए । मेयर राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा भने स्थानीय सरकार सञ्चालन ऐनको अपव्याख्या गरेर बच्ने कोसिस गरेको वडाध्यक्षहरुको भनाइ छ । मेयर राईले कार्यपालिका सदस्यहरुको माग बारे बेखबर रहेको बताएका छन् । आज मेयर साम्पाङले आफ्नो कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै किन र केका लागि कार्यपालिका सदस्यहरु आन्दोलनमा छन् त्यो थाहा नभएको बताए । उनले विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठक बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुलाई असक्षम भन्दै राजीनामा दिन भनेका छन् । मेयरले पत्रकार सम्मेलन गरेपपछि कार्यपालिका सदस्यहरुले पनि पत्रकार सम्मेलन गरेका थिए । धरानका ३० मध्ये २८ जना कार्यपालिका सदस्य (मेयर, उपमेयरबाहेक) ले गरेको पत्रकार सम्मेलनमा १७ नम्ब। वडाका अध्यक्ष मनोज भट्टराईले मेयरले धरानमा अराजकता निम्त्याएको आरोप लगाए । तत्काल राजीनामा दिएर आफुसँग चुनाव लड्न मेयरलाई उनले चुनौती समेत दिए । सहयोगीले वडाध्यक्षहरुलाई पत्र पठाएपछि विवाद मेयरका सहयोगीले वडाध्यक्षहरुलाई पत्र पठाउँदै योजनाको विषयमा विवरण माग गरेपछि वडाध्यक्षहरु नीतिगत असहमति राख्दै आन्दोलनमा उत्रेका छन् । मेयरको ‘स्वकीय सचिव’ भन्दै ‘सहयोगी’ले पत्र काटेपछि वडाध्यक्षहरुले आफ्नो मान मर्दन भएको र कानुनसम्मत समेत नभएको भन्दै कार्यपालिका बैठकमा कुरा उठाएका थिए । उनीहरुले मेयरबाट गल्ती भएको भन्दै माफी माग्नुपर्ने वा पत्र पठाउने सहयोगीलाई कार्वाही हुनुपर्ने अन्यथा कार्यपालिका बैठकमा सहभागी नहुने अडान राख्दै आएका छन् । गत चैत्त १ गतेदेखि नै धरानको कार्यपालिका बैठक बस्न सकेको छैन । कानुनको अपव्यख्या मेयर राईले जारी गरेको विज्ञप्तिमा कानुनको अपव्यख्या गरिएको छ । उनले जारी गरेको विज्ञप्तीमा ‘ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ को उपधारा ४ क को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गरेको’ उल्लेख छ । तर उक्त ऐनमा ‘कार्यपालिकाको दैनिक कामलाई सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने’ भनिएको छ । उनले आफूलाई सहज हुनेगरी ‘दैनिक कामलाई सामान्य रेखदेख गर्ने’ शब्द हटाएर उल्लेख गरेका छन् । त्यसो गर्नुको अर्थ १० नम्बर वडाका अध्यक्षलाई सोधेको स्पष्टीकरण सही सावित गर्ने कोसिस भएको वडाध्यक्षहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार