जित नजिक पुगेको लखनऊविरुद्ध गुजरातको रोमाञ्चक जित

आइतबार, १० बैशाख २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल) मा जित नजिक पुगेको लखनऊ नाटकीय रुपमा गुजरात टाइटन्ससँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लखनऊ ७ रनले पराजित हुँदा गुजरात भने चौथो जित हात पार्‍यो । गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनऊले सुरुवाती प्रदर्शन उत्कृष्ठ गरेको थियो । १४ ओभर २ बलमा दुई विकेट गुमाउँदा १०६ रन बनाउँदै जिततर्फ अग्रसर लखनऊको त्यसपछि भने अप्रत्यासित प्रदर्शन रह्यो । कप्तान केएल राहुलले अर्धशतक पूरा गर्दै सर्वाधिक ६८ रन बनाए पनि टिमको जितका लागि पर्याप्त हुन सकेन । अर्का ओपनर काइल मेयर्सले २४ रन बनाए । उनले कप्तान राहुलसँग ५५ रनको साझेदारी गरे । यस्तै, क्रुनाल पान्डेयले २३ रनको योगदान दिए । तीन ब्याटरले टिमलाई जित उन्मुख प्रदर्शन गरेपनि त्यसपछि आएका ब्याटरहरुले दोहोरो अंकको रन बनाउन नसक्दा लखनऊले हार व्यहोर्‍यो । लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो । गुजरातका मोहित शर्मा र नुर अहमदले २–२ विकेट लिए भने रशिद खानले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । गुजरातका हार्दिक पान्डेयले अर्धशतक पूरा गर्दै सार्वधिक ६६ रन बनाए भने ऋद्दिमन साहले ४७ जोडे । विजय शंकरले १० रन बनाउनु बाहेक गुजरातका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। लखनऊका क्रुनाल पान्डेय र मार्कस स्टोनिसले २–२ विकेट लिए भने नविन उल हक र अमित मिश्रले १–१ विकेट लिए । जितपछि गुजरात ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार