सहमहामन्त्री महालक्ष्मी उपाध्याय भन्छिन्– “व्यक्तिवाद र शक्तिको मोहले पार्टी कमजोर बन्दै गएको छ”

शुक्रबार, २१ कार्तिक २०८२
File Photo

काठमाडौँ : नेपाली काङ्ग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीभित्र बढ्दो व्यक्तिवाद, पद र शक्तिमा जकडिने प्रवृत्ति र आर्थिक स्वार्थका कारण सङ्गठनको शुद्धता कमजोर बन्दै गएको बताएकी छन्।

शुक्रवार सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले भनिन्, “व्यक्तिवादी चरित्र र नेतृत्वको अकर्मण्यताले सङ्गठनात्मक संरचना धराशायी बन्दै गएको छ।”

उपाध्यायले हालैको जेन–जी आन्दोलनलाई गम्भीर आत्ममूल्यांकनको अवसरका रूपमा लिन नेतृत्वलाई सुझाव दिँदै नयाँ पुस्ताको भावना सम्मान गर्न नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिइन्।

उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि गत भदौ २४ गते भएको आक्रमणको कडा निन्दा गर्दै आन्दोलनका क्रममा पार्टीको सम्पत्ति र नेताहरूको घर तोडफोड गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरिन्।

सहमहामन्त्री उपाध्यायका अनुसार, “पार्टीले समयको माग बुझ्न सकेन, जनताको भावना र नयाँ पुस्ताको आकाङ्क्षालाई बेवास्ता गरेकै कारण यस्तो अवस्था आएको हो।”

उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयलाई गल्ती ठहराउँदै भनिन्, “जेनजी आन्दोलन युवाहरूको मात्र आवाज होइन, यो हाम्रो राजनीतिक संस्कृतिमा पारदर्शिता र जबाफदेहिताको माग पनि हो।”

उपाध्यायले पार्टीभित्र सूचना सम्प्रेषण कमजोर भएको र नेतृत्वमा “हामीलाई केही हुँदैन” भन्ने अहङ्कारी सोचले दूरी बढाएको आरोप लगाइन्।

सभापति देउवा स्वयं सामाजिक सञ्जाल प्रतिबन्धबारे अनभिज्ञ रहेको खुलासा गर्दै उनले “सभापतिलाई सूचना नपुग्ने अवस्था स्वयं पार्टीभित्रको सूचना व्यवस्थापनको विफलता हो” भनेर टिप्पणी गरिन्।

उनले भने, “चार–पाँच जना मनपर्ने सल्लाहकारको घेरामा पार्टी चलाउने अनि समस्या पर्दा दोष सभापतिलाई मात्र थोपर्ने प्रवृत्ति अस्वस्थ छ।”

महाधिवेशनका तयारीबारे असन्तुष्टि जनाउँदै उपाध्यायले मिति तोक्न ढिलाइ गरेर समय खेर फालिएको बताइन्।

उनले हालै ५४ प्रतिशत हस्ताक्षरले प्रस्तुत गरेको प्रस्ताव नेतृत्व परिवर्तनको माग मात्र नभई “नीतिगत सुधार, सङ्गठनात्मक पुनरावलोकन र नयाँ यात्राको सङ्केत” भएको बताइन्।

उनले पार्टीलाई पुनः सुदृढ बनाउन विधान संशोधन समिति, निर्वाचन समिति र क्रियाशीलता छानबिन समिति तत्काल गठन गरी महाधिवेशनको स्पष्ट कार्यतालिका सार्वजनिक गर्न माग गरिन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार