लिगको ११औँ चरण सकिँदा थ्रीस्टार उपाधि होडमा फर्कियो

सोमबार, ११ बैशाख २०८०
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको ११ औँ चरणका खेल आइतबार सकिएका छन्। ११ औँ चरणको अन्तिम खेलमा दशरथ रङ्गशालामा आइतबार साँझ थ्रीस्टारले संकटा क्लबलाई ३–० ले पराजित गर्‍यो। जितसँगै थ्रीस्टार अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ औँ चरणका खेलसँगै लिगमा अपराजित टोली पनि कुनै बाँकी रहेनन्। चर्च ब्वाइज एक्लो अपराजित टिमका रुपमा रहे पनि ११ औँ चरणमा जावलाखेलसँग पराजित हुन पुगेको थियो। लिगमा ११ औँ चरणमा साविक च्याम्पियन मछिन्द्रले फ्रेन्डसलाई हराउँदा मनाङ भने लगातार चौंथो हार भोग्न बाध्य भयो। ११ औँ चरणसम्मको खेलमा अप्रत्यासित रुपमा उपाधि दाबेदार टिमहरुले आफ्नो बलियो लय समाउन सकेका छैनन्। अस्थिर प्रदर्शनका कारण लिग अङ्कतालिकामा लिग प्रतिस्पर्धात्मक देखिएको छ। लिगमा जावलाखेल, चर्च ब्वाइज र सातदोबाटोले उपाधि दाबेदारी कायम राख्दा थ्रीस्टार ११ औँ खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लियो। आइतबार थ्रीस्टारले संकटामाथि सहज जित निकाल्ने क्रममा उसका लागि अजयी मार्टिन्सले दुई गोल गर्दा सन्तोष साउखलले अर्को एक गोल गरेका थिए। ४२ औँ मिनेटमा पहिलो गोल गरेका मार्टिन्सले ४६ औँ मिनेटमा अग्रता दोब्बर बनाए। ५१ औँ मिनेटमा ह्याट्रिकको मौका पाए पनि उनले पेनाल्टीमा गोल गर्न चुकेका थिए। टिमका लागि तेस्रो गोल इन्जुरी समयमा सन्तोषले सम्भव बनाए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार