रातो क्रान्ति, सेतो शान्ति : बडादशैं मनाउने परम्पराको यस्तो छ रहस्य !

विहीबार, १६ असोज २०८२

रस्मिता गिरी 

काठमाडौँ : बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मनाइने विशेष पर्व हो ।

यसलाई बडादसैँ, दशहरा वा विजया दशमी नामले पनि चिनिन्छ । हिन्दू धर्मावलम्बीहरूले प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन बिहान मान्यजनहरूबाट टीका–प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।

टीका र जमरा ग्रहणको यो चलन पूर्णिमासम्म निरन्तर रहन्छ । पण्डित उत्तम न्यौपानेका अनुसार रातो टीका क्रान्ति र विजयको प्रतीक हो भने सेतो शान्ति, अमरत्व र अटल सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । त्यसैले दशैंमा रातो धारा (अबिर वा सिन्दूर) अनिवार्य मानिन्छ ।

दशैंको धार्मिक पक्ष

दसैँलाई विजया दशमी भनिनुको प्रमुख कारण नवरात्रका नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको आराधना र दशमीका दिन असुर शक्तिमाथि विजय प्राप्तिको स्मरण हो ।

  • सप्तमीमा कालरात्रि,

  • अष्टमीमा महाकाली, महालक्ष्मी, महासरस्वती,

  • नवमीमा सिद्धिदात्री माताको पूजा गर्ने परम्परा छ ।

रामायण अनुसार, भगवान रामले रावणविरुद्ध विजय प्राप्त गर्नुअघि देवी दुर्गाको आराधना गरेका थिए । त्यस्तै, देवी दुर्गाले चण्ड–मुण्ड लगायतका दानवहरूलाई वध गरी धर्म र सत्यको रक्षा गरेकी थिइन् । यही कारण दशमीका दिनलाई विजय उत्सवको रूपमा मनाइन्छ ।

यस दिन मान्यजनबाट टीका–प्रसाद र जमरा ग्रहण गरी आशीर्वाद लिने, मिठो खानेकुरा खाने, पिङ खेल्ने र रमाइलो गर्ने परम्परा छ ।

टीका र पञ्चतत्व

दशमीदेखि पूर्णिमासम्मलाई पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु, आकाश) को स्वरूपमा देवीको आराधनासँग जोडिएको मानिन्छ । अन्तिम दिन लक्ष्मीपूजा हुने भएकाले पाँच दिनसम्म मान्यजनका घरमा टीका–प्रसाद ग्रहण गर्ने चलन रहन्छ ।

टीकाको प्रतीकात्मकता

पहिला चामललाई दहीमा मिसाएर टीका लगाउने चलन थियो ।

  • चामल – लक्ष्मी र समृद्धिको प्रतीक,

  • दही – जल तत्त्व र पवित्रताको प्रतीक,

  • लाल रङ्ग – साहस, क्रान्ति, विजय र उत्साहको प्रतीक,

  • सेतो रङ्ग – शान्ति र आत्मिक आनन्दको प्रतीक ।

पहिले अबिर प्रचलनमा नभएको तर पछि भारतबाट आएको कारण रातो रङ्गको प्रयोग बढेको बताइन्छ ।

यसरी, दशैंको टीकाले केवल विजय र आशीर्वाद मात्र नभई शान्ति, उत्साह र सौभाग्यको प्रतीकात्मक सन्देश पनि बोकेको हुन्छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार