सुनसरी : अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो क्रममा रहेको छ।
प्रभावित बस्तीहरूमा रहेका नागरिक र भौतिक सम्पत्तिहरू जोगाउनका लागि जनशक्ति, स्रोत, साधन र उपकरणहरू निरन्तर परिचालनमा रहेका छन्।
राज्य सुरु देखिनै जिम्मेवार र तत्पर रहेकाले हालसम्म ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिएको भए पनि विपद् अझै टरेको छैन।
यसैबिच, पूर्व सांसद अशोक कुमार चौधरीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणमा सावधानी र मानवीय सहयोगका लागि अपिल गरेका छन्।
उनले लेखेका छन्, “पानी रोकिएको छैन, बाढी–पहिरोको जोखिम अझै कायम छ। अत्यावश्यक नपरी घरबाहिर ननिस्कनुहोस्, बाढी, पहिरो वा डुबान हेर्न नजानुहोस्। सजग बनौँ, सचेत रहौँ, र एक अर्कालाई सुरक्षित रहन अनुरोध गर्दछु।”
चौधरीले प्राकृतिक विपत्तिका कारण धेरै स्थानमा सडक अवरुद्ध भई यात्रुहरू बिच बाटोमै अलपत्र परेको उल्लेख गर्दै स्थानीयवासीहरूलाई सहयोगी हात अघि बढाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, “यस्तो बेलामा ती यात्रुहरूसँग खानेकुरा, चिसोको लुगा, पर्याप्त पैसा वा अन्य आवश्यक व्यवस्था नहुन सक्छ। त्यसैले तपाईँको स्थानमा यस्तो अवस्था देखिएमा स्थानीयवासी वा युवाहरूको समूह बनाएर खाने, बस्ने, मोबाइल चार्ज गर्ने, केटाकेटी वा बिरामीका लागि बाक्लो लुगा र औषधि लगायत सक्दो सहयोग पुर्याऔँ।”
पूर्व सांसद चौधरीको यो अपिलसँगै सामाजिक सञ्जालमा धेरैले विपद्को समयमा एक अर्कालाई सहयोग गर्नुपर्ने भावना व्यक्त गरेका छन्। उनले अन्त्यमा लेखेका छन्, “यो विपद् पार गर्न हामी सबैको एकता, संवेदना र सहकार्य आवश्यक छ।”
प्रतिक्रिया