 
                            काठमाडौं । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।
बैठकमा अध्यक्ष ओलीको राजीनामा माग गरिएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य रवीन कोइरालाले अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीकै गृहजिल्ला झापाका कोइरालाले ओलीको राजीनामा मागेका हुन्।
यस्तै, बैठकमा बोल्दै दुई जना केन्द्रीय सदस्यहरूले भने अध्यक्ष ओलीलाई एमालेको आजीवन अध्यक्ष बनाएर जानुपर्ने धारणा राखेका छन्। केन्द्रीय सदस्य महम्मद समीर र महम्मद हारून हलुवाईले साे माग गरेका हुन्। ओलीलाई आजीवन अध्यक्ष बनाउनुपर्छ भन्ने उनीहरुको जोडदार माग रहेको छ । समीर बाराका हुन् भने हलुवाइ बाँकेका हुन्।
जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिने तयारी छ ।
प्रतिक्रिया