कोशी प्रदेशको संकल्प : १०८ शिवलिङ्गमार्फत धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ अभियान

मंगलबार, ११ कार्तिक २०८२

इटहरी : कोशी प्रदेशको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा इटहरी–२ आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ ।

असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम कात्तिक १४ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ ।

कार्यक्रम अन्तर्गत कात्तिक १४ गते कलश शोभा यात्रासहित सुरुवात हुनेछ भने कात्तिक १७ देखि १९ गतेसम्म विशेष प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । सो अवसरमा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

भारतका दिल्ली, सिलगुडी, सिक्किम, विहारलगायत क्षेत्र र नेपालको काठमाडौँ, पोखरा, नवलपरासी, धरान, बराहक्षेत्र लगायतका क्षेत्रबाट समेत प्रतिनिधि आउने जनाइएको छ ।

Untitled design - 2025-10-28T213349.691

भक्तपुरमा बनेको कलात्मक नेपाली इँटाबाट निर्मित आसन र नेपालकै शिलाबाट बनेको शिवलिङ्ग स्थापना गरिएको छ । शिवलिङ्गसँगै हनुमानको मूर्तिसमेत स्थापना गरिएको छ । करिब ३६ लाख रुपैयाँको लागतमा जमिनसहित १०८ शिवलिङ्ग निर्माण गरिएको हो, जसमा स्थानीय बासिन्दा, सङ्घ–संस्था, स्थानीय र प्रदेश सरकारको पनि सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमका क्रममा धरानको पिण्डेश्वर बाबा धाम, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, विष्णुपादुका, बराहक्षेत्र धामलगायतका धार्मिक स्थलहरूबाट समेत संस्थागत प्रतिनिधित्व हुनेछ । सोही अवसरमा करिब एक घण्टा लामो सामूहिक शंखघोष र जलाभिषेक आराधना समेत आयोजना गरिनेछ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका तीन दर्जनभन्दा बढी शाखाबाट प्रतिनिधित्व हुने कार्यक्रमलाई धार्मिक पर्यटनको नयाँ अध्यायको रूपमा हेरिएको छ ।

शिवलिङ्ग स्थापना स्थल नजिकै सडक मानव उद्धार केन्द्र माया घर नेपाल रहेको छ । आयोजकहरूले शिवलिङ्ग दर्शनका लागि आउने भक्तजनले त्यहाँका मानवसेवामा पनि सहकार्य गर्न सक्ने व्यवस्था गरिएको बताएका छन् ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेश सरकारले सूचीकृत गरेका ८२ पर्यटन गन्तव्य स्थलहरूलाई यस अवसरमा प्रचार–प्रसार गरिनेछ ।

WhatsApp Image 2025-10-28 at 20.43.36

इटहरीको सुकल्प सामुदायिक भवन, श्री विष्णु पाञ्चायन मन्दिर, धनकुटा–इटहरी सम्पर्क समाज, नेपाल शेर्पा सङ्घलगायतका संस्थाहरूको नजिक रहेको यो स्थललाई नमुना धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रमका आयोजकहरूले इटहरीवासी, धार्मिक सङ्घ–संस्था र सञ्चारकर्मीहरूप्रति सहयोग र प्रचार–प्रसारका लागि आभार प्रकट गर्दै ‘१०८ शिवलिङ्ग प्रतिष्ठा’ले कोशी प्रदेशको धार्मिक पर्यटन विकासमा नयाँ पहिचान दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार