झापा: झापा जिल्लाको कमल गाउँपालिका–५ मंगलबारेस्थित एक घरमा लागूऔषध बिक्री वितरण हुँदै गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा पाँच जनालाई ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी हवल्दार राजकुमारको नेतृत्वमा खटिएको टोलीले बिष्णु राजबंशीको घरमा खोजतलासी गर्दा Tramadol Hydrochlorides Capsules I.P. लेखिएको ८० पत्ता (८०० क्याप्सुल), SPASPAIN लेखिएको ३० पत्ता (३०० ट्याबलेट) र Dicyclomine Tablet 20 mg लेखिएको ५० पत्ता (५०० ट्याबलेट) गरी ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–५ का २७ वर्षीय बिष्णु राजबंशी, सोही गाउँपालिका–३ का २२ वर्षीय मौसम तामाङ, वडा नं. १ का १८ वर्षीय सावन जगेबु, शिवसताक्षी नगरपालिका–११ का २१ वर्षीय रुस्तम बर्देवा र १९ वर्षीय रुचल मगर रहेका छन्।
उनीहरूलाई औषधि बिक्री वितरणमा संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको औषधि र पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कारबाही अघि बढाएको छ।
प्रतिक्रिया