सुनिता कटुवालको इटहरीदेखि इजरायलसम्मको साङ्गीतिक यात्रा

शनिबार, १५ कार्तिक २०८२

इटहरी : इटहरीलाई आफ्नो कर्मथलो बनाएर गीतसङ्गीत क्षेत्रमा करिब एक दशकदेखि सक्रिय गायिका सुनिता कटुवाल पछिल्लो समय आधुनिक गायिकाका रुपमा विशेष प्रभाव राख्दै युवापुस्ताको मन जितिरहेकी छिन् । 

समाजका कुरीति, विसङ्गति र नारी जीवनका पीडालाई गीतको मिठासले उजागर गर्दै मनोरञ्जन मात्र नभई गहिरो चेतना जगाउने उनको शैलीले युवापुस्तालाई मात्र होइन, सबै उमेरका श्रोताहरूको हृदय छुने गरेको छ।

इटहरीको सामान्य परिवारमा जन्मिएकी सुनिताको सङ्गीतप्रतिको लगाव बाल्यकालदेखि नै थियो। स्थानीय सांस्कृतिक कार्यक्रमहरूबाट सुरु भएको उनको यात्रा आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ।

 इटहरीमा रहेको जनता क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेकी उनले छोटो समयमा नै गीत सङ्गीतबाट नै आफ्नो करियर स्थापित गरेकी छिन ।

"मेरो गीतहरूले नेपाली संस्कृति र सामाजिक मुद्दालाई जीवन्त बनाउँछन्," भन्छिन् सुनिता, "गीत हाम्रो आत्मा हो, जसले पीडा र आनन्द दुवै बोकेर आउँछ।" उनको यो प्रतिबद्धताले उनलाई नेपाली सङ्गीत क्षेत्रमा 'सामाजिक सन्देशकी स्वरलेखिका' को रूपमा स्थापित गरेको छ।

हिन्दु नारीहरूले मनाउने महान् पर्व तिज होस् या अन्य सांस्कृतिक अवसर, कटुवालका मौलिक लोकगीतले नेपाली समुदायमा स्थायी छाप छोड्न सफल भएकी छिन् ।

विशेषगरी तीजका गीतहरूले गाउँघरका दुखसँगै आशाको सन्देश बोकेर लाखौँ श्रोताहरूको मन जितेका छन्। यसैबिच, उनको युट्युब च्यानलमार्फत हालै सार्वजनिक भएको तीज गीतले तहल्का मच्चाएको छ।

यो गीतले विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीहरूमाझ 'घरको माया' को स्मृति ताजा पारेको छ। युट्युबमा लाखौँ भ्यूज र सकारात्मक कमेन्टहरूले उनको लोकप्रियता प्रमाणित गरेको छ – "सुनिताजीको स्वरले तीजको पीडा पनि मीठो लाग्यो !" जस्ता प्रतिक्रियाहरूले उनको प्रभावलाई झल्काउँछन्।

यो युट्युब सफलताकै कारण सुनितालाई अन्तर्राष्ट्रिय मञ्चको निम्तो मिलेको छ ! इजरायलमा आयोजना हुन लागेको विशेष नेपाली सङ्गीत कन्सर्टमा उनलाई मुख्य कलाकारको रूपमा आमन्त्रित गरिएको छ।

यहाँ सयौं नेपाली समुदायका सदस्यहरूबिच उनको लोकगीतले तीजको उमङ्ग र घरेलु सन्देश बोकेर प्रस्तुत हुनेछिन्।

"इजरायल पुगेर नेपालीहरूको बिचमा गाउन पाउनु मेरो सपना पूरा जस्तो लाग्छ," उत्साहित सुनिताले भनिन्। यो कन्सर्टले उनको यात्रालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ, जसले नेपाली लोकसंगीतलाई विश्वव्यापी बनाउने अभियानमा थप बल पुर्‍याउनेछ।
 

sunitaaa

‘सहृदयता अन्तर्राष्ट्रिय इजरायल’ द्वारा आयोजना हुने यो कार्यक्रम आगामी नोभेम्बर १४ (कात्तिक २८) मा सम्पन्न हुनेछ। कार्यक्रममा नेपाली सङ्गीतका चर्चित गायक दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड र गायिका कटुवालले आकर्षक प्रस्तुति दिने तय भएको छ।

आयोजकका अनुसार, कन्सर्ट केवल मनोरञ्जनका लागि नभई इजरायलमा बसोबास गर्ने नेपालीबिच सहयोग, एकता र मातृभूमिप्रतिको माया जगाउने माध्यमका रूपमा आयोजना गरिएको छ। यस अवसरमा कटुवालले भनिन्:

"नेपालमा मात्र नभई विदेशमा बस्ने नेपालीले पनि मेरो गीतमा रुचि देखाएको देख्दा मलाई गर्व लाग्छ। मेरो उद्देश्य मनोरञ्जन मात्र होइन, गीतमार्फत समाजमा सकारात्मक सन्देश फैलाउनु हो।" 

सुनिता कटुवालको प्रस्तुतिले निश्चय नै नेपाली समुदायबिच आपसी मेलमिलाप र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने विश्वास आयोजक र दर्शक दुवैमा देखिन्छ। यसै विषयमा उनीसँग प्रदेशखबरले गरेको कुराकानीको सार संक्षेप :-

तपाईँले इटहरीलाई कर्मथलो बनाएर साङ्गीतिक यात्रा सुरु गर्नुभयो। सुरुका दिनहरूमा कस्ता चुनौतीहरू सामना गर्नुपर्‍यो र ती चुनौतीहरू पार गर्दै कसरी सफलतामा पुग्नुभयो?

मैले इटहरीमा कर्मथलो बनाएर अगाडि बढ्दै गर्दा सुरु सुरुमा अलि समस्या भएतापनि आफूले कुनै लक्ष्य बनाएर अगाडि बढियो भने। निरन्तरता मिहिनेत लगनशीलता लाई आत्मसात् गरी अगि बढ्दा अवश्य पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने कुरा मूल्याङ्कन चैँ मैले गरेको छु।


समाजमा व्याप्त कुरीति र विकृति विरुद्ध तपाईँले गीतमार्फत आवाज उठाउँदै आउनुभएको छ। यस्ता सन्देशमूलक गीतहरू लेख्दा र गाउँदा कस्ता चुनौतीहरू आउँछन्? राम्रो सन्देश फैलाउन किन समय लाग्छ जस्तो लाग्छ?

समाजमा देखिने कुरीति र विसङ्गति लाई गीत मार्फत उजागर त गर्दै आएको छु। तैपनि चुनौतीपूर्ण र अनुभवको सवालमा चैँ नराम्रो कुरा जसरी चाँडो बजारमा हल्ला हुन्छ भने राम्रो कुरालाई चैँ अलि समय लाग्दो रहेछ। जुन कुरामा अझै धेरै निरन्तरता दिई अघि बढिरहने छु।


तपाईँका गीतहरू सधैँ सन्देशमूलक र जनचेतनामूलक हुन्छन्। दर्शक–श्रोताले यस्ता गीतहरूलाई किन यति धेरै रुचाउँछन् जस्तो लाग्छ? देश–विदेशका फ्यानहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

मैले जहिले पनि गीत मार्फत सन्देशमूलक र जनचेतनामूलक गीतहरू गाउँछु। सो दर्शकहरूले अलि बढी नै मेरो गीतहरू रुचाउनु हुन्छ। सम्पूर्ण देश विदेशमा रहनुहुने दर्शक श्रोताहरूलाई यसरी नै सदैव मलाई माया गरिदिनुहुन अनुरोध गर्दछु।


इजरायलमा स्टेज प्रस्तुति दिने अवसर प्राप्त भयो। त्यहाँको अनुभव कस्तो रह्यो? विदेशमा बस्ने नेपालीहरूलाई नेपाली सङ्गीतप्रति कसरी जोडिरहन प्रेरित गर्न चाहनुहुन्छ?

इजरायलमा स्टेज प्रस्तुति दिन अवसर प्रदान गर्नु भएकोमा आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु। इजरायलमा बस्नु हुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बैनीहरूलाई जहाँ जहाँ हामी रहेता पनि नेपाली सङ्गीत क्षेत्रलाई सदैव माया गरिदिनु होला। म चाँडै नै तपाईँहरूको सामुन्ने आउँदै छु। बाँकी कुरा त मेरो प्रस्तुतिले नै बताउने छ।


 इजरायलको कन्सर्टमा दर्शकको उपस्थिति र माया देख्दा तपाईँलाई कस्तो लाग्यो? यो सहभागितालाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?

 जुन कन्सर्टमा सहभागिता हुनुको अर्थ त उहाँहरूले म प्रति गरेको माया र मेरो सङ्गीतप्रति गरेको उच्च मूल्याङ्कन हो जस्तै लाग्छ।


आगामी दिनमा तपाईँको साङ्गीतिक यात्रा कस्तो रहनेछ? निरन्तरता र नवीनताको सन्तुलन कसरी कायम गर्नुहुन्छ?

भविष्यमा मेरो ठाउँबाट जुन हिसाबले मैले कामहरू गर्दै आएको छु। यसरी नै निरन्तरता दिँदै अघि बढ्दै जाने छु।

युट्युब र डिजिटल प्लेटफर्ममा सङ्गीत सार्वजनिक गर्दा आउने राम्रा र चुनौतीपूर्ण पक्षहरू के–के हुन्? 

युट्युब डिजिटल प्लेटफर्ममा हामीले जुन सार्वजनिक गर्दै राम्रो र चुनौतीका कुराहरू हुन्छन् नै। 

sunitaa


अहिलेको नयाँ पुस्ताले कस्ता गीतहरू बढी रुचाउँछन्? तपाईँ आफ्ना प्रस्तुतिहरूमा कसरी त्यसलाई ध्यान दिनुहुन्छ?

दर्शक श्रोताहरूले जुन मेरो गीतलाई मन पराउनु भएको छ। अहिलेको समयमा नयाँ पुस्ताहरूले राम्रो भाषाका गीतहरू र सन्देशमूलक र परिवर्तनकारी गीतहरू बढी रुचाउनु हुन्छ। म त्यसैमा केन्द्रित रहेर प्रस्तुतिहरू दिने छु।


इटहरीमा सङ्गीत पाठशाला सञ्चालन गरेर सयौं भाइबहिनीलाई सङ्गीत सिकाउँदै हुनुहुन्छ। यो अभियानको उद्देश्य के हो र आगामी दिनमा के–कस्ता नयाँ योजना छन्?

इटहरीमा सङ्गीत पाठशाला मार्फत सयौं भाइबहिनीहरूलाई सङ्गीत क्षेत्रमा अघि बढ्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छु। आगामी दिनमा पनि निरन्तरता दिँदै अझ काम गर्न बाँकी छ। कम बोल्ने धेरै काम गर्नुपर्छ जस्तो लाग्छ। अब दर्शकहरूले रोजेको र खोजेको जस्तो नयाँ साङ्गीतिक कोसेलीहरू बजारमा चाँडै नै आइपुग्दै छ।


सङ्गीत क्षेत्रमा अघि बढ्दै गरेका युवा महिलाहरूलाई तपाईँको सन्देश के छ? असफलता आएमा कसरी हिम्मत नहार्ने?

अझ सक्षम बनाउनको लागि त आफ्नो ठाउँबाट गर्नुपर्ने सबै कामहरू गर्छु नै। तर पनि युवा महिलाहरूलाई के भन्न चाहन्छु भने अघि बढ्दै जाँदा कतै असफलता र सोचेजस्तो भएन भने असफलता नै सफलता हो भनेर हिम्मत नहारी अगाडि बढ्नुस्।

एक दिन सफलता मिल्ने छ। लक्ष्य प्राप्त गर्नको लागि केही बाटाहरू बदल्नुपर्न सक्छ तर लक्ष्य नबदल्नुस्। निरन्तरता दिनुहोस्। सफलता हजुरकै इमानदारिता, मेहनत र लगनशीलतामा छ भन्न चाहन्छु।

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार