काठमाडौँ । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा अब मन्दिरमै पुनःस्थापना गरिने भएको छ ।
काठमाडौँ महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा रहेको मूर्ति ४० वर्षदेखि संरक्षणको अभावमा गौशाला प्रहरी वृत्तमा राखिएको थियो । मूर्तिलाई मन्दिरमा पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिका–८ कार्यालयले पहल सुरु गरेको महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजकसमेत रहनुभएका वडाअध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।
सोमबार मूर्ति पुनःस्थापना गरिने र कात्तिक २१ गते उद्घाटनको तयारी भएको उनले बताए । छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको उनले सुनाए ।
उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको हो । मन्दिरलाई विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको थियो । मन्दिरको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनःनिर्माणका लागि शिलान्यास गरेका थिए ।
पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतम ऐतिहासिक सम्पदाको इतिहास नमेटाई पुनःनिर्माण गरेर संरक्षण गर्दै अगाडि बढ्नुपर्ने बताउँछन् । पाशुपत क्षेत्रमा दशौँ शताब्दीको ब्रह्मेश्वर महादेव पनि पशुपतिनाथ परिसरमा रहेको उनले बताए ।
प्रतिक्रिया