इटहरीमा मेयर र वडाध्यक्ष पोखरेलबीच ‘टसल’ : क्षतिग्रस्त संरचनाहरू अस्तव्यस्त, पुनर्निर्माण शून्य

पोखरेल भन्छन्, “सुन बन्धकी राखेर वडाको भुक्तानी गरेका थिए, तर अहिलेसम्म नगरबाट भुक्तानी लिन सकिन”

आइतबार, १६ कार्तिक २०८२
मेयर हेमकर्ण पौडेल र वडाध्यक्ष दिवश पोखरेल

इटहरी : भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले इटहरी उपमहानगरपालिकाको पूर्वाधारलाई ठूलो धक्का दिएको थियो। तर,आन्दोलनको विध्वंसबाट उठ्नुपर्ने बेला नै नगरप्रमुख हेमकर्ण पौडेल र वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता दिवश पोखरेलबिचको ‘टसल’ ले विकास निर्माणको गतिलाई ब्रेक लगाउने खतरा देखिएको छ।

क्षतिग्रस्त संरचनाहरू अझै अस्तव्यस्त छन्,भुक्तानीहरू रोकिएका छन् र समन्वयको अभावमा कामकाज अलमलमा परेको छ। “मेयर साब किन यति धेरै बायस हुनुभयो ? मलाई थाहा भएन,” वडाध्यक्ष पोख्रेलले प्रदेश खबरसँग भने । 

जेनजी आन्दोलनपछि तयार गरिएको प्रारम्भिक प्रतिवेदन अनुसार इटहरी उपमहानगरमा ३६ करोड रुपैयाँभन्दा बढीको भौतिक तथा जिन्सी क्षति भएको छ। तर, घटना भएको झन्डै दुई महिना बित्दासमेत पुनर्स्थापना प्रक्रिया सुस्त छ।

प्रवक्ता दिवश पोखरेलले भने, यो अवस्थाको जिम्मेवारी सीधै नगरप्रमुखमाथि नै लगाएका छन्।

“नगरप्रमुखले वास्तवमै चासो दिनुभएको छैन। समिति बनाएर निर्देशन दिएको सुन्नमा आए पनि उहाँको फोन लाग्दा उठ्दैन। धेरैजसो मोबाइल अफ हुन्छ,” पोखरेलले भने।

Your paragraph text (13)

आगजनीपछिको संवेदनशील अवस्थामा एकपटक पनि मेयरसँग संवाद हुन नसकेको र मेयर कार्यालयमा उपस्थित नभएको गुनासो पोखरेलको छ।

'महाशाखाहरूमा कर्मचारीहरू अलमल भएर बसेका छन काम नभएर दिनभर यता उता गर्छन् २ महिना बित्न लाग्यो कामहरू अलपत्र छन',उनी भन्छन् ।

“क्षतिग्रस्त संरचनाहरू अस्तव्यस्त छन्। मेयर साब कार्यालयमा आउनुहुन्न। भित्रभित्रै केही गरिराख्नुभएको छ भने फेरि कुरा फरक, तर कुनै वडाध्यक्षसँग समन्वय भएको छैन,” उनले थपे।

कम्प्युटर खरिददेखि सफाइसम्मका आधारभूत काम रोकिएको उल्लेख गर्दै पोखरेलले प्रश्न गरे, “हाकिमसाबलाई कम्प्युटर किन्न कसले रोकेको छ ? कम्तीमा सफाइ त गर्न सकिन्छ नि !”

नगरका योजनाको भुक्तानीका संदर्भमा पनि पोखरेल मेयरप्रति रुष्ट नै छन् । 

“अहिलेसम्म भुक्तानी पाएको छैन। यस्तो भएपछि कसरी आफ्नो रिस्कमा काम गर्ने ?” उनको प्रश्न छ। यद्यपि,  कार्यगत बहस–विवाद भए पनि सम्बन्ध सुमधुर रहेको दाबी गर्दै उनले भने, “मेयर साबले फोन  सम्पर्क गर्दा हामीले उठाउनुपर्छ, तर हामीले गर्दा फोन नउठाइदिने उहाँको पुरानै बानी हो।”

धेरै वडाहरूको भुक्तानी रोकिएको उल्लेख गर्दै उनले आगामी कार्यपालिका बैठकमा निर्णय हुने जानकारी दिए। वडा नं. ६ मा भने आन्दोलनको प्रत्यक्ष असर कम देखिएको छ।

जेनजी आन्दोलनका क्रममा उपमहानगरका विभिन्न संरचनामा आगजनीपछि वडामा आगजनी गर्न आए पनि स्थानीयले रोकिदिएको र २६ गतेदेखि नै कार्यालयको सेवा सुचारु भएको  पोखरेलले बताए । 

प्रवक्ताको जिम्मेवारी एक रुपैयाँ नलिई निर्वाह गरेको दाबी गर्दै उनले समन्वयको अभावले समग्र इटहरीको विकास प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे। राजनीतिक टसलका कारण पूर्वाधार पुनर्निर्माण ढिलो हुँदा स्थानीयलाई दैनिक जीवनमा समस्या परिरहेको छ।

Untitled design (15)

नगरप्रमुख हेमकर्ण पौडेलको पक्षबाट भने कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन। नगरप्रमुख पौडेललाई बुझ्नका लागि पटक–पटक सम्पर्क गर्दा फोन लागे पनि दोहोरो संवाद हुन सकेन।

मेयर पौडेल र प्रवक्ता पोखरेल दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित हुन् । 

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार