उदयपुर आएर प्रदीप ज्ञवालीले भने,'भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैन'

सोमबार, १७ कार्तिक २०८२

उदयपुर : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भयरहित वातावरण नबनेसम्म एमाले आगामी चुनावमा सहभागी नहुने स्पष्ट गरेका छन्। सोमबार एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि मुलुक गम्भीर संकट र अस्थिरतामा फसेको बताउँदै यस्तो अवस्थामा निर्वाचन सम्भव नभएको टिप्पणी गरे।

ज्ञवालीले भने, “भदौ २३ र २४ को घटनापछि जेलबाट भागेका करिब साढे पाँच हजार कैदी अझै पनि जेलबाहिर छन्, सुरक्षाकर्मीका लुटिएका धेरै हतियार फिर्ता आएका छैनन्। यस्तो अवस्थामा जनताले आफू सुरक्षित महसुस गर्ने वातावरण छैन, त्यसैले निर्वाचन भयरहित हुन सक्दैन।”

उनका अनुसार एमालेले ‘चुनावबाट भाग्ने होइन, तर भयरहित वातावरणमा मात्र चुनाव हुने’ भन्ने नीतिमा अडान लिएको छ। उनले एमाले जनताको बहुदलीय जनवादमा विश्वास गर्ने दल भएकाले चुनावप्रति प्रतिबद्ध रहेको तर भय, आतंक र असुरक्षाबीच जनादेश लिन खोज्नु गैरजिम्मेवार हुने बताए।

ज्ञवालीले वर्तमान अवस्थाबाट देशलाई निकास दिलाउन विघटित संसद पुनर्स्थापना गरी संविधान संशोधनमार्फत समाधान खोज्नुपर्ने सुझाव दिए। उनले संसद पुनर्स्थापनाको माग सत्ता मोहका कारण नभई संवैधानिक स्थायित्वका लागि गरिएको बताए। “संविधानले अहिलेको सरकारलाई नै नचिन्ने स्थिति आएको छ। त्यसैले संसद पुनर्स्थापना गरेर आन्दोलनको भावना अनुसार सरकार गठन गरी त्यसबाटै चुनाव गराउनुपर्छ,” उनले भने।

छानबिन समितिको विषयमा बोल्दै ज्ञवालीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको समितिलाई पूर्वाग्रही भने। उनका अनुसार कार्कीले विगतदेखि नै एमालेप्रति पक्षपातपूर्ण दृष्टिकोण देखाउँदै आएका कारण सत्यतथ्य छानबिन हुने आशा गर्न सकिँदैन। उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरु सम्मिलित निस्पक्ष आयोग गठन गरेर भदौ २३ र २४ को घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

ज्ञवालीले एमाले अब जनताको भावना बुझ्नका लागि घर–घर र टोल–टोलमा पुग्ने अभियान सुरु गर्ने तयारीमा रहेको जानकारी पनि दिए।

यसैबीच, नेकपा (एमाले) उदयपुरले हालै सम्पन्न आठौँ विस्तारित बैठकमार्फत २०४६ सालयता पार्टीबाट राज्यका निकायमा जिम्मेवारी पाएका नेताहरूको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गर्ने र जेनजी आन्दोलनका क्रममा जलेका पार्टी कार्यालय पुनःनिर्माणका लागि ‘म बनाउँछु पार्टी कार्यालय’ अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष भागवत राउतले बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार