काठमाडौं : नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति निर्धारणलाई लिएर विवाद थप चर्किएको छ। पार्टीका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले सोमबार नयाँ बानेश्वरस्थित आनन्द भूमि रेस्टुरेन्टमा बसेर आगामी वैशाख २५ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिभित्र महाधिवेशनको मितिमा सहमति नजुटिरहेको बेला संस्थापन पक्षका सदस्यहरूले छुट्टै बैठक बसेर मिति टुङ्ग्याउनुले आन्तरिक शक्ति–सन्तुलनमा नयाँ मोड ल्याएको विश्लेषण गरिएको छ।
कार्यसम्पादन समितिको पछिल्लो बैठकमा संस्थापन इतर पक्षले मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने माग गरेका थिए, भने संस्थापन पक्षले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान लिएको थियो।
दुई धारबीच मिलन बिन्दु नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। त्यसैबीच संस्थापन पक्षीय सदस्यहरूले छुट्टै छलफल गर्दै महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्।
बैठकमा सहभागी एक सदस्यका अनुसार, “संस्थापन पक्षले अब ढिलाइ नगरी पार्टीलाई स्पष्ट दिशातर्फ लैजानुपर्ने” निष्कर्ष निकालेको छ। उनले भने, “पार्टीलाई निर्वाचन र संगठन सुदृढीकरण दुबै तयारीमा लैजान यो निर्णय आवश्यक थियो।”
विश्लेषकहरूको भनाइमा, यो कदम महाधिवेशन अघि पार्टीभित्र नयाँ गुट–गतिशीलता र नेतृत्व प्रतिस्पर्धाको संकेत पनि हुन सक्छ। कांग्रेसभित्र हाल महाधिवेशन र आमनिर्वाचन तयारीबीचको प्राथमिकता नै मुख्य विवादको केन्द्र बनेको छ।
प्रतिक्रिया