झापा । बिर्तामोडमा दिनदहाडै लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार ताप्लेजुङ पाथीभरा याङवरक–६ घर भई हाल बिर्तामोड–४ पुरानो बिजुली अफिस अगाडि निर्मल कटवालको तीन तले घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएकी देवी कार्कीको कोठाबाट १५ लाख ७८ हजार ८७४ रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान चोरी भएको हो ।
पीडित कार्कीका अनुसार चोरले ढोका खोलेर कोठामा राखिएको नगद २ लाख ६१ हजार रुपैयाँ, ५ तोला ६ आना सुन (अन्दाजी मूल्य १२ लाख ८९ हजार ८७४ रुपैयाँ) र रेड्मी नोट १४ मोबाइल फोन (अन्दाजी मूल्य २८ हजार रुपैयाँ) चोरी गरी फरार भएको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको कमाण्डमा प्रहरी टोली खटिएको छ । हाल घटनास्थलको निरीक्षण, खोजतलास र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दिनदहाडै चोरी भएसँगै स्थानीयले सुरक्षाको माग गरेका छन् । उनीहरूले सुरक्षाप्रति प्रश्न उठाउँदै प्रहरीलाई निगरानी बढाउन आग्रह गरेका छन् । यता प्रहरीले भने चाँडै नै चोरीमा संलग्न व्यक्तिको पहिचान हुने र सुरक्षाको वातावरण मिलाउन आफूहरू तल्लीन रहेको जनाएको छ ।
नदीजन्य सामग्री सङ्कलन गर्ने तीन वटा ट्याक्टर पक्राउ
झापा, कात्तिक १७ । नदीजन्य सामग्री सङ्कलन गर्ने तीन वटा ट्याक्टर पक्राउ परेका छन् । प्रहरीका अनुसार अर्जुनधाराको बिरिङ खोलामा अवैध रूपमा नदीजन्य सामग्री सङ्कलन गरिरहेका तीन वटा ट्याक्टर पक्राउ परेका हुन् ।
अर्जुनधारा–१ स्थित बिरिङ खोलाबाट ना ४ त ६५३२, प्र १–०१–००१ त.९७१७ र को १ त ८८६३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शनिश्चरेका वरिष्ठ सई नुमराज के.सी र इलाका प्रहरी कार्यालय अनारमनीका सई विकास पोख्रेलको कमान्डको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रशासनिक तरलताको फाइदा उठाउँदै सशस्त्र प्रहरीलाई प्रभावमा पारेर अर्जुनधारामा नदीजन्य सामग्रीको निरन्तर चोरी हुँदै आएको छ ।
नियन्त्रणमा लिएका ट्याक्टर नगरपालिका बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया