आइएमई खल्ती लिमिटेडमा प्रविण रेग्मी सिईओ नियुक्त

सोमबार, ०१ मंसिर २०८२

काठमाडौँ : आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार गर्दै आएको आइएमई खल्ती लिमिटेड ले प्रविण रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ।

आज बसेको कम्पनीको सञ्चालक समितिको ११ औँ बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि सिईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। रेग्मी यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिईओका रूपमा कार्यरत थिए तथा मर्जरपछि आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा संस्थाको रणनीतिक नेतृत्वमा सक्रिय रहेका थिए।

फिनटेक, बैंकिङ र डिजिटल ट्रान्सफर्मेसन क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव भएका रेग्मीले नेपालको डिजिटल भुक्तानी प्रणाली आधुनिकीकरणमा निरन्तर योगदान दिँदै आएका छन्। बढ्दो डिजिटल कारोबार र क्यासलेस अर्थतन्त्रतर्फ उन्मुख नेपालको डिजिटल ट्रान्सफर्मेसन यात्रामा उनी महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले अपेक्षा गरेको छ।

यसअघि सिईओ रहेका विनय खड्का चार वर्षे कार्यकाल पूरा गरी पदबाट विदा भएका छन्।

पीएसपी संघ नेपालका संस्थापक अध्यक्षसमेत रहेका रेग्मीले भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय नेतृत्व गरेका थिए। उनका अनुभव र दूरदृष्टिलाई रणनीतिक विकासमा उपयोग गर्दै आइएमई खल्ती लिमिटेडले अझ मजबूत डिजिटल सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार