धरान : भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय अभिषेक श्रेष्ठको गत भदौ २३ गते इटहरीमा भएको जेन्जी आन्दोलनमा गोली लागेर निधन भयो।
भदौ २३ गते बिहानदेखि सम्पर्कविहीन रहेपछि परिवारमा चिन्ता बढ्नु स्वाभाविक नै थियो । साँझ करिब ७ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट आएको फोनले उनको मृत्यु पुष्टि गरेको थियो ।
सुनसरीको बराहक्षेत्र राजा बासमा जन्मिएका अभिषेक सानै उमेरदेखि मामाघरमै हुर्किएका थिए । उनी ११ महिनाको हुँदादेखि हजुरआमा सीता श्रेष्ठ, मामा मनोज श्रेष्ठ र माइजू तारा श्रेष्ठका साथमा हुर्किएका थिए ।
चार वर्षअघि मामा माइजू सपरिवार वराहक्षेत्रबाट इटहरीमा बसाइँ सरेर आएका हुन ।
हजुरआमा सीता श्रेष्ठ सम्झिन्छिन् सानो बच्चा हुर्काउनु सजिलो थिएन, तर आमा, बुबाको कमी हुन दिएका थिएनौँ, आफ्नो छोराछोरीभन्दा पनि बढी माया र स्याहार दिएर नातिलाई हुर्काए ।
उसले २३ वर्षसम्म हामीबाट माया र मार्गदर्शन पायो, अहिले हामीमाझ छैन तर सधैँ सम्झनामा भने रहन्छ ।
सानै उमेरदेखि जिम्मेवार र शान्त स्वभावका अभिषेकले कक्षा १० सम्म पढाइमा राम्रो नतिजा ल्याएका थिए ।
त्यसपछि पढाइभन्दा काममा उसको रुचि बढेपछि उनी फोटोग्राफी क्षेत्रमा लागे ।
केही समयदेखि इटहरीस्थित एक बर्गर हाउसमा फोटोग्राफरका रूपमा काम गरिरहेका थिए ।
विदेश उडानको तयारीमा रहेका अभिषेकले आफ्ना सपनासहित घरपरिवारको अपेक्षा बोकेर अघि बढिरहेका थिए ।
इटहरीमा सँगै कोठामा बस्ने अभिषेकका साथी सक्षम कार्की भन्छन्“अभिषेक आन्दोलन भनी गएको थिएनन् । उनी बर्गर हाउस क्याफेमा फोटोग्राफरका रूपमा काम गर्थेँ, म अर्कै ठाउँमा मार्केट लाइनमा काम गर्थेँ, तर हामी एकै ठाउँ बस्थ्यौ । दुई÷तीन दिनपछि उनको विदेशको उडान थियो । अभिषेक मलाई भन्ने गर्थे, “म विदेश जाँदा काठमाडौँसम्म पु¥याउन जाउँ है, मैले धेरै पैसा कमाउनु छ, मेरो मामा माइजू र हजुरआमालाई हेर्नु छ, दुःख गरेर मलाई हजुरआमा मामा माइजूले हुर्काउनुभयो ।”
अभिषेकका साथी कार्की सम्झन्छन् “भदौ २३ गते म बिहान काममा गएँ अभिषेक हल्का बिरामी पनि थिए, उनलाई रुघा लागेको थियो । मैले कोठामै छोडेर गएँ ।
करिब बिहान ९÷१० बजेतिर उनले मलाई फोन गरेर आफू काम गरेको ठाउँमा पैसा लिन जान लागेको र आन्दोलन पनि हेरेर आउँछु, तिमी नआउने भनेर मलाई सोधे ।” मैले म आउन भ्याउँदिन, तिमी जाऊ न भनेर छोटो जवाफ फर्काएँ ।
पछि फेरि केही समयपछि अभिषेकले फोन गरेर मलाई भने, पैसा दिने मान्छे पनि आन्दोलनमा गएको रहेछ, म त्यो मान्छे पनि खोजेर आउँछु, आन्दोलन पनि हेरेर आउँछु भनेर भनेको कुरा नै हामीबिचको अन्तिम कुराकानी बन्यो”, उनको साथी कार्कीले भने “अभिषेक आन्दोलन हेर्न इटहरीको मुख्य चोकदेखि पूर्व लाइनमा पुगेको र त्यहाँ उनले छेउमा उभिएर भिडियो पनि बनाउन भ्याएका रहेछन् ।
दिउँसो करिब २÷३ बजेतिर आन्दोलनकारी र प्रहरीबिच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले गोली चलाउँदा अभिषेकको अनुहारको नाक छेउमा गोली लागेर श्रेष्ठ त्यहीँ ढलेको रहेछ । यो दृश्य भिडियोबाट थाहा भएको उनका साथीले भने ।
अभिषेकलाई मैले दिउँसो १२ बजेतिर फोन गर्दा उनको फोन ‘अफ’ थियो, सम्पर्क हुन सकेन । पछि अपराह्न ५ बजे फोन लाग्यो तर उनको फोन उठेन । केही समयपछि उनको नम्बरबाट फोन आयो । उठाउँदा धरानबाट एक प्रहरीले भन्नुभयो, “तपाईँहरूको मान्छे आन्दोलनमा परेको छ, छिटो धरान बिपी अस्पतालमा आउनुहोस् ।”
यो खबर सुन्ने बित्तिकै उहाँ सक्षमसहित केही साथीहरू अस्पताल पुगी सोधपुछ गर्दा आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको जानकारी प्राप्त भयो । पहिले त साथीहरूलाई अभिषेकको उपचार भइरहेको होला भन्ने आशा थियो तर केही क्षणमै आशा निराशामा परिणत भयो ।
“पहिले नै अभिषेकको निधन भइसकेको रहेछ । छेउमा कपडाले छोपेर राखिएको थियो, हामीले कपडा उघारेर हेर्दा अभिषेक नै रहेछन् । केही क्षण त हामीहरू उनलाई हेरेको हेरै भयौँ,” सक्षम भन्छन् “क्षणभरमै उनको विदेशको सपना त्यहीँ दिन अन्त्य भयो ।”
अभिषेक केही दिनमै साउदी उड्ने तयारीमा थिए, जेन्जी आन्दोलन हुनुभन्दा दुई दिनअघि मात्र इटहरीकै एक मेन पावरमा गएर उडानका लागि रु ८० हजार बुझाएर आएको अभिषेकका माइजू तारा श्रेष्ठ बताउँछिन् । उनको निधन भएपछि त्यो पैसा अहिलेसम्म म्यानपावरले फिर्ता दिएको छैन । केही दिनअघि अभिषेक बाबुले आफूले काम गर्ने ठाउँ अलि टाढा भएकाले आउजाउ गर्न गाह्रो भयो म साथीहरूसँग डेरामा बस्छु भनेर कुरा गर्नुभएको थियो । हामीले ‘हुन्छ’ भनेपछि ऊ साथीहरूसँग काम गर्ने स्थान नजिकै बस्न थालेको उनका माइजू ताराले बताइन ।
“गत भदौ २३ गते बिहानदेखि सबैतिर जेन्जी आन्दोलन भइरहेको थियो । त्यो दिन बिहानदेखि नै बाबु अभिषेकको फोन लागेको थिएन । हजुरआमाले पनि फोन गर्नुभयो, मैले पनि फोन गरिरहेँ, तर फोन लागेन । फोन नलागेपछि हामीलाई चिन्ता लागेको थियो नभन्दै साँझ नपत्याउँदो खबर सुन्नुप¥यो”, माइजू तारा सुनाउँछिन्।
दिउँसो करिब १ः०० बजेसम्म पनि अभिषेकको फोन ‘अफ’ नै थियो । उनले भने “साँझ करिब ७ः०० बजे अभिषेककै नम्बरबाट फोन आयो । उताबाट ‘प्रहरी डिएसपी बोल्दैछु’ भनेर भन्नुभयो, तपाईँ अभिषेकका आफन्त हो ? भनेर सोध्नुभयो, मैले हो, म माइजू भनेपछि उनले यहाँ धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनुस्, तपाईँहरूको मान्छे आन्दोलनमा पर्नुभएको छ । उहाँले त्यति भनेपछि फोन काटियो ।
त्यस समयको स्मरण गर्दै उनले सुनाउँछिन्, त्यसपछि फेरि तुरुन्तै फोन आयो, अनि अभिषेकका बारे सबै विवरण सोधियो । हामी हतार हतार सबै आफन्तहरू भेला भएर तुरुन्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्यौँ । त्यहाँ पुगेर थाहा पायौँ, बाबुको मृत्यु भइसकेको रहेछ । हामीले सोध्यौँ हाम्रो मान्छेलाई ढुङ्गा मुढा लागेको हो कि गोली तर सुरुमा त्यहाँ कसैले पनि स्पष्ट भन्न चाहनु भएन पछि थाहा भयो, उसलाई गोली लागेको रहेछ ।
अभिषेकलाई कराते खेलप्रति विशेष रुचि थियो । माइजू ताराका अनुसार केही समयअघि उनले कुखुरा पालन गर्ने इच्छा व्यक्त गरेपछि हामीले घर पछाडि सानो फार्म तयार गरिदियौँ । केही महिनासम्म उहाँले कुखुरा फार्मसमेत सञ्चालन गरेका थिए ।
फोटोग्राफी, पेन्टिङ कला तथा अन्य सिर्जनात्मक कामहरूमा उनको रुचि धेरै नै थियो । तर ती सबै सपना भने जेन्जी आन्दोलनसँगै उब्जिएको परिस्थितिमा आएर सपना पूरा हुन पाएन ।
सानै उमेरदेखि हुर्काएँ बढाएको भाञ्जा नहुँदा घर नै शून्य भएको माइजू तारा बताउँछिन् । अभिषेक बाबु सधैँजसो सपनामा रुँदै गरेको देख्छु । मैले बिहान–बेलुका उहाँको फोटोमा धूप, बत्ती बालेर फूल–पानी चढाइदिन्छु ।
आन्दोलनका उद्देश्यहरू छुट्टै भए पनि यसले गुमाएका जीवन र भोग्नु परेको पारिवारिक पीडाको क्षति भने भरिन नसक्ने छ । अभिषेकजस्तै धेरै युवाको भविष्य यस घटनाक्रमले प्रभावित पारेको छ ।
प्रतिक्रिया