इलाम : इलाममा धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित धार्मिक उत्सव आयोजना गर्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको छ। इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजना तथा इलाम नगरपालिकाको सहयोगमा इलाम बजारमा सम्पन्न कार्यक्रममा नगरभित्रका २५ वटा धार्मिक समितिका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा इलाममा धार्मिक उत्सव सञ्चालन गर्ने प्रस्तावमाथि विस्तृत छलफल गरिएको थियो। प्रस्तावित धार्मिक उत्सवमा विभिन्न धर्मावलम्बीहरूको पाठ पारायण, प्रवचन, धार्मिक क्षेत्रको प्रचार–प्रसारलगायतका कार्यक्रम समावेश गरिने जनाइएको छ। नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोख्रेलका अनुसार आगामी नयाँ वर्षको अवसर पारेर वैशाख महिनामा सो कार्यक्रम आयोजना गर्ने योजना रहेको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले गत असोज १८ गते आएको बाढीका कारण केही मठ–मन्दिर तथा धार्मिक क्षेत्रसम्म पुग्ने सडकमा क्षति पुगेको उल्लेख गर्दै मर्मतका लागि नगरपालिकाको पहल आवश्यक रहेको बताए। उनीहरूले धार्मिक क्षेत्रप्रति जनचासो बढ्दै गएको र धार्मिक पर्यटकको आगमनसमेत उल्लेख्य रूपमा बढिरहेको धारणा राखे। धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटकको सङ्ख्या अझ वृद्धि हुने उनीहरूको भनाइ थियो।
अन्तरक्रियामा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपप्रमुख विष्णु लिम्बु दाहाल, इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा नगर प्रवक्ता नुतनदेव दुलाल, इलाम नगरपालिका–६ का वडाध्यक्ष मदन श्रेष्ठ, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठसहित विभिन्न जनप्रतिनिधि र धार्मिक सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया