नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ: डा.कोइराला

मंगलबार, ०८ पुस २०८२

काठमाडौं । नेपालको प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीका अवसरमा  मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले जेनजी आन्दोलनपछि देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा रहेको बताए । साथै जेनजीको आन्दोलनमा नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी रहेको धारणा समेत कोइरालाले राखे ।

काँग्रेस नेता कोइरालाले भने,‘अहिले देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा छ । प्रजातन्त्र वा लोकतन्त्र हामीले छाडातन्त्रमा विकास गरिसकेको छौं । अहिलेको अवस्था जेनजीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्योभित्र नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी थियो ।’
त्यस्तै उनले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार हुन आवश्यक रहेको भन्दै अहिले नेपालमा त्यसको खडेरी लागेको समेत बताए । कोइरालाले भने,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार भएन भने म आग्रह गर्छु राजनीति नगर्नु । संस्कार भएन भने राजनीति हुन सक्दैन् । अहिले देशमा त्यसको खडेरी छ । अहिले पपुलिजम आएको छ त्यसले अर्को समस्या जन्माएको छ ।’

त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार