विराटनगर : पछिल्लो समय देशको आर्थिक गतिविधिमा देखिएको सुस्तता र ‘जेनजी’ आन्दोलनपछिको व्यावसायिक निराशालाई चिर्दै मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको ‘विराट ट्रेड एक्स्पो, २०८२’ सुरु भएको छ ।
विराटनगर–१ स्थित शान्ति चोकमा आयोजित यो मेलाले निजी क्षेत्रमा नयाँ ऊर्जा भर्ने र आर्थिक गतिशीलता बढाउने लक्ष्य राखेको छ ।
निजी क्षेत्रको साहसको प्रशंसा
अन्तर्राष्ट्रिय मेलाको समुद्घाटन गर्दै अर्थमन्त्री रामेश्वर खनालले संकटका बेला निजी क्षेत्रले देखाएको साहसको प्रशंसा गरे । उनले देशको अर्थतन्त्रलाई चलायमान राख्न सरकारको भन्दा निजी क्षेत्रको योगदान ठूलो हुने बताए । ‘निजी क्षेत्र आफैं अगाडि बढेर यस्ता मेला आयोजना गर्नुले देशको आर्थिक गतिविधि जीवित रहेको प्रमाण दिन्छ ।’ उनले भने ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा २३० वटा स्टलहरू रहेका छन् । मेलामा नेपालका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।
कृषि, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, र पर्यटनसँग सम्बन्धित वस्तुहरूको बृहत प्रदर्शनी रहेको छ । २ करोड रुपैयाँ खर्च अनुमान गरिएको यस मेलाबाट करिब २५ देखि ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा छ ।
पुस १९ गतेसम्म चल्ने मेलालाई २ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको दाबी छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले यो मेला केवल सामान किनबेच गर्ने थलो मात्र नभई व्यावसायिक रणनीति बनाउने माध्यम पनि भएको बताए ।
मेला अवधिभर स्टार्टअप, साइबर सुरक्षा, कर प्रणाली, र महिला उद्यमशीलता जस्ता महत्वपूर्ण विषयमा ’थिमेटिक सेसन’हरू सञ्चालन गरिनेछ, जसले उद्यमीहरूलाई नयाँ सोच र प्रविधिसँग जोड्नेछ।
उद्घाटन सत्रमा अर्थमन्त्री खनालले संघीयताको कार्यान्वयनमा कर्मचारी र अधिकार अझै केन्द्रमै सीमित रहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
विराटनगरको यो एक्स्पोले सुस्ताएको बजारमा नयाँ उत्साह थप्ने र व्यापारिक वातावरणलाई पुनः चलायमान बनाउने आशा गरिएको छ ।
प्रतिक्रिया