काठमाडौं : पत्रकार ऋषि धमलाकी पत्नी एवं कलाकार एलिजा गौतम प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। काठमाडौंको प्रज्ञा भवनमा बुधबार बसेको आजपाको केन्द्रीय समिति बैठकका बीच गौतमले विधिवत् रूपमा पार्टी प्रवेश गरेकी हुन्।
पार्टी प्रवेशलगत्तै आजपाले उनलाई केन्द्रीय उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
डेढ महिनाअघि मात्र अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा गठन भएको जनादेश पार्टीमा उनी उपाध्यक्षकै भूमिकामा थिइन्। तर, उक्त पार्टीमा पदाधिकारी चयन र आन्तरिक व्यवस्थापनलाई लिएर असन्तुष्टि चुलिएपछि उनी आजपामा समाहित हुने निर्णयमा पुगेकी हुन्। गौतमले नागरिक उन्मुक्ति पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्।
किन रोजिन् आजपा?
पार्टी प्रवेशपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले भनिन्, "मैले समाजसेवालाई राजनीतिमार्फत अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्य राखेको छु। आजपाले उठाउँदै आएका जनमुखी मुद्दा र नीतिहरूले मलाई आकर्षित गर्यो। अब यसै पार्टीमार्फत जनताको आवाज उठाउनेछु।"
प्रज्ञा भवनमा जारी आजपाको केन्द्रीय बैठकमा गौतमसँगै अन्य विभिन्न दलका नेता-कार्यकर्ताहरू पनि प्रवेश गरेका छन्। बैठकमा पार्टी अध्यक्ष प्रभु साहले गौतमलाई टीका र माला लगाएर स्वागत गरेका थिए। बैठकमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र पार्टीको भावी रणनीतिबारे समेत गम्भीर छलफल भइरहेको बुझिएको छ।
गौतमको प्रवेशले आजपालाई विशेष गरी काठमाडौं र युवा वृत्तमा थप प्रभाव विस्तार गर्न मद्दत पुग्ने पार्टी वृत्तमा चर्चा सुरु भएको छ।
प्रतिक्रिया