विराटनगर । भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै झापाबाट पथरीतर्फ आउँदै गरेको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा अवैध कपडा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार बिहीबार साँझ करिब ६ बजेतिर पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६९८ नम्बरको म्याजिक भ्यान रोकेर खानतलासी गरिएको थियो । खानतलासीका क्रममा भ्यानभित्र विभिन्न प्रकारका कपडा लुकाएर ल्याइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भ्यानबाट ५७ थान ज्याकेट, ३ सय ९३ थान स्वीटर, १ सय ८२ थान ट्राउजर, ४ थान जिन्स पाइन्ट, ८ थान लङकोट र ९ थान कोट बरामद गरेको छ । बरामद कपडाको बजार मूल्य ४ लाख ७० हजार ६ सय रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ ।
चेकजाँचका क्रममा चालकले कपडाको कुनै पनि बिल, भन्सार कागजात वा वैधानिक प्रमाण पेस गर्न नसकेपछि कपडा भन्सार छली गरी भारतबाट ल्याइएको पत्ता लागेको हो । त्यसपछि कपडासहित भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भ्यान चालक झापाको मेचीनगर नगरपालिका–१३ का ४३ वर्षीय कृष्णबहादुर बस्नेतलाई पक्राउ गरेको हो । बरामद कपडा, म्याजिक भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय पथरीमा थप अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया