काठमाडौँ : राजनीतिक परिवर्तनको आँधी चलिरहेको यो बेला, एक ठुलो ट्विस्ट ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान भएको एकताले सबैलाई उत्साहित त बनाएको छ, तर जेनजी प्रतिनिधिका एक प्रमुख अगुवा सुदन गुरुङलाई भने यो एकताले झन् असन्तुष्ट बनाएको छ। कारण ? ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई यस एकताबाट पूरै बाहिर राखिएको छ !
गुरुङले यो निर्णयलाई 'परिवर्तन चाहने जनताका लागि दुःखद' भनेका छन्। उनले मध्यराति फेसबुकमा लेख्दै भनेका छन्, "यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ।"
उनले थपे, "कसैलाई पनि कुनै पक्ष लिन बाध्य पार्ने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ। अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला। तर आजको समयले तपाईँहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ।"
यी तीनै नेताहरू (रवि, बालेन र कुलमान) बीच एकताको प्रयास लामो समयदेखि चलिरहेको थियो। तर अन्ततः रवि र बालेनबीच मात्र सहमति भएपछि गुरुङले कडा विरोध जनाएका हुन्।
उनले चेतावनी दिँदै भनेका छन्, "आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ- कृपया! यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ। त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ- के तपाईँहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुभएको हो कि केवल त्यसको भ्रम मात्रै छरिरहनुभएको हो? जेनजीले हेरिरहेको छ।"
प्रतिक्रिया