बिरामी बोक्ने एम्बुलेन्समै गाँजा तस्करीः प्रहरीले गोली चलाएर दुईजनालाई नियन्त्रणमा लियो

सोमबार, १४ पुस २०८२

विराटनगर । बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी गाँजा ओसारपसार हुँदै गरेको अवस्थामा मोरङ प्रहरीले आइतबार राति हवाई फायर गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।

केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजे रोक्न खोजिएको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स छाडेर फरार हुन खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको हो।

धनकुटाबाट मोरङतर्फ ठूलो परिमाणको गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरी र इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीको नेतृत्वमा संयुक्त टोली खटिएको थियो।

पक्राउ परेका धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कवित कटवालले जानकारी दिएका छन्।

सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता गरिएको उक्त एम्बुलेन्सको खानतलासी गर्दा १६ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद पदार्थको तौल लिन बाँकी रहे पनि करिब ४ सय ८० किलोभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। धनकुटाबाट मोरङ हुँदै भारत पठाउन लागिएको आशंका गर्दै प्रहरीले एम्बुलेन्स, बरामद गाँजा र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

प्रहरीले एम्बुलेन्सको दुरुपयोग तथा संलग्न अन्य नेटवर्कबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार