बालेन अघि सारेर चुनावमा रास्वपा

सोमबार, १४ पुस २०८२

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमा जाने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने र बालेनबीच सातबुँदे सहमति भएसँगै बालेनले दलीय राजनीति सुरु गरेका छन् । उनीहरू मिलेर चुनावमा जाने भएपछि वैकल्पिक दाबी गर्दै आएका दल र जेन–जी समूहमा उत्साह देखिएको छ । गत निर्वाचनबाट उदाएका यी दुई नेता एकै ठाउँ उभिएको निर्णयले राजनीतिक वृत्तमा नयाँ तरङ्ग सिर्जना गरेको छ ।

नयाँ शक्तिहरूबिचको एकताले आउँदो चुनावमा वैकल्पिक धार बलियो हुने अड्कलबाजी सुरु भएको छ । जेन–जी आन्दोलनका अगुवाहरूले पुराना दलहरूको विकल्प खोजिरहेका बेला भएको सहमतिले वैकल्पिक शक्तिलाई मूलधारमा ल्याउने विश्लेषण पनि हुन थालेको छ । केहीले भने पदीय भागबन्डासहित गरिएको सहमतिको आलोचना गर्दै यसलाई स्वार्थको रोटी सेकाइ भनेका छन् ।

जेन–जी अगुवाहरूको भरपर्दो दल निर्माण हुन नसकिरहेका बेला रवि–बालेन एकताले नयाँ पुस्ताको मत पाउने विश्वास रास्वपा नेताहरूको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि मुलुकको राज्यसत्तामा उलटफेर आएको थियो ।

आन्दोलनका क्रममा सत्ता छाडेर भागाभाग भएका पुराना दलका नेता तङ्ग्रिँदै गर्दा नयाँ शक्तिहरूबीच ध्रुवीकरण भएको हो । यसले विघटित प्रतिनिधिसभाका मुख्य दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई समेत दबाबमा राख्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

पुराना दलहरूको विकल्पमा रास्वपालगायत नयाँ दलहरू चुनावी रणनीति बनाउँदै छन् । नयाँ शक्तिहरूबिचको ध्रुवीकरणले पुराना दलमाथि चुनावी नतिजाको त्रास बढाएको देखिन्छ । यद्यपि बहुदलीय पद्धतिमा नयाँ दलहरू आउने कुरालाई सामान्य रूपमा लिनुपर्ने राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बताउँछन् ।
‘बहुदलीय पद्धतिमा नयाँ दलहरू नेतृत्वमा आउने कुरालाई असामान्य रूपमा लिनु हुँदैन,’ उनले भने, ‘पहिलेदेखि नै राज्यसत्तामा बसेकाहरू झस्किनुपर्ने कारण छैन । तर उनीहरूले आफूलाई कहाँ उभ्याउँछन् र समयअनुकूल कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’

रास्वपा २०७९ को मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा उदाएको थियो । त्यसअघि बालेन नै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लोकप्रिय मतसहित देशकै सबैभन्दा ठुलो महानगरपालिका काठमाडौँको मेयर निर्वाचित भएका हुन् । खासमा बालेनलगायत गैरदलीय उम्मेदवारका रूपमा धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको सफलताबाट प्रेरित भएर नै रवि राजनीतिमा आएका हुन् । जेन–जी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेपछि पाँच वर्षे कार्यकाल पूरा नगरी बालेन दलीय राजनीतिमा होमिन लागेका हुन् ।

दुई नेताले आगामी निर्वाचनपछिको राजनीतिक जिम्मेवारीसमेत तोकेर सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार रवि रास्वपाको सभापतिमा कायम रहने र बालेन दोस्रो वरीयताका साथ भावी प्रधानमन्त्रीका लागि निर्वाचनपछि संसदीय दलको नेता बन्ने सहमति भएको छ ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले भन्छन्, ‘पार्टीको नेतृत्व रविले गर्ने र सरकारमा पुगेको खण्डमा बालेनले नेतृत्व गर्ने भन्ने भइसकेपछि पार्टीमा उहाँलाई वरिष्ठ नेताको भूमिकामा राख्नेछौँ ।’

रास्वपाको समानुपातिक सूचीमा बालेनको भागमा ४० जना र रास्वपाको कोटामा ७० जना पठाउने सहमति भएको छ । निर्वाचन आयोगमा सोमबारसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ कम्तीमा १० र बढीमा १ सय १० जनाको नाम बुझाउनुपर्छ ।

दलहरू अहिले समानुपातिक बन्द सूची तयार गर्ने काममा व्यस्त भइरहेका बेला पार्टी एकता भए पनि रास्वपाका तर्फबाट आउने उम्मेदवार छनोट पार्टीको आन्तरिक मतदान प्रक्रियाबाटै हुने भएको छ । तर बालेनका तर्फबाट आएकालाई सूचीमा राख्ने योजना रहेको रास्वपाका उपसभापति एवं संवाद समितिका संयोजक वाग्ले बताउँछन् ।

‘रास्वपाका तर्फबाट सिफारिस भएका उम्मेदवारहरू पुरानै विधिबाट छनोट हुन्छन्,’ उनले मध्यान्हसँग भने, ‘बालेनका तर्फबाट सिफारिस भएर आउने उम्मेदवारहरूलाई १ सय १० को सूचीमा पार्ने गरी गृहकार्य भइरहेको छ ।’

पुराना राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूले समेत यो मिलनलाई सकारात्मक टिप्पणी गरेका छन् । काँग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रमा राजनीतिक दल वा समूहबीचको मिलनलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

‘मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा डो¥याउन राजनीतिक दल वा सङ्गठित शक्ति मिल्नु लोकतन्त्रमा स्वागतयोग्य नै हुन्छ,’ उनले भने, ‘तर त्यसले राजनीतिक वैचारिक धार समाउन सकेन वा सिद्धान्तमा प्रस्टता भएन भने त्यो केवल स्वार्थको मिलन मात्रै हुन्छ ।’ काङ्ग्रेसलगायत स्थापित दलहरूले पनि सच्चिएर मुलुक र जनताको हितमा मिल्न सक्नुपर्ने उनको भनाइ छ ।

नेपालको राजनीतिक इतिहासमा यस्ता अनेकौँ सहमति कागजमै सीमित भएका उदाहरण छन् । त्यसैले वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिएका रवि र बालेनबीचको सहमति यसअघि पुराना दलका नेताबीच भएका सहमतिजस्तै ‘कागजमै सीमित’ हुने त होइन भन्ने प्रश्नसमेत उठेको छ । रवि र बालेनबीच भएको सहमतिलाई कतिपयले २०७४ मा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिकै ‘फोटोकपी’का रूपमा पनि टिप्पणी गरेका छन् ।

ओली र प्रचण्डले पार्टी एकतासहित भावी प्रधानमन्त्रीका लागि गरेको सहमतिकै शैलीमा अहिले रवि र बालेनबीच सहमति भएको राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन् । चुनावी गठबन्धनपछि पार्टी एकता गर्दा प्रधानमन्त्रीको कार्यकाल आधाआधा बाँड्ने ओली–प्रचण्ड सहमति थियो । तर ओलीले आनाकानी गरेपछि प्रचण्डले कार्यकारी अध्यक्ष बन्ने गरी अर्को सहमति गरे । त्यो भूमिका पनि नपाएपछि नेकपामा कलह निम्तिएको थियो, जसकै कारण पार्टी विभाजन भएको थियो ।

‘नेपालको राजनीतिक इतिहासमा यस्ता सहमति बारम्बार हुँदै आएका छन्,’ विश्लेषक खनालले भने, ‘राजनीतिक एजेन्डाका सहमति के हुन् भन्ने स्पष्ट नहुँदासम्म स्वार्थका सहमतिहरूले देशलाई निकास दिने सामर्थ्य राख्दैनन् । पुराना दलहरूलाई विस्थापित गर्न नयाँहरूबीच सहमति भयो भन्नुले राजनीतिक रूपमा एउटा अर्थ लाग्ला, तर यथार्थमा त्यसले राजनीतिक एजेन्डाको तहमा खासै काम गर्ला भन्ने लाग्दैन ।’

जेन–जी आन्दोलनपछि नवयुवालाई समेट्नुपर्ने र वैकल्पिक, सुसंस्कृत राजनीति गर्ने अभियन्ताहरूलाई समेत समेटेर विश्वसनीय विकल्प दिनुपर्ने लामो पहलपछि एकता सम्भव भएको सभापति वाग्लेले बताए ।

‘विगत एक महिनामा विवेकशील साझा पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहको टिमलाई रास्वपामा समायोजन गरेर दुईवटा महत्त्वपूर्ण सफलता हासिल गरेका छौँ,’ उनले भने, ‘यसले निकै सकारात्मक सन्देश दिएको छ ।’ कुलमान घिसिङले पार्टीको कार्यकारी भूमिका नै खोजेपछि कुरा मिल्न नसकेको उनको दाबी छ ।

‘रवि लामिछानेले धेरै दुःखका साथ पार्टी निर्माण गरेर यहाँसम्मको उचाइमा पुर्‍याउनुभएको छ, त्यसैले उहाँलाई अहिले मानमर्दन गर्नु हुँदैन भन्ने पार्टीपंक्तिको निर्णयअनुसार अघि बढेका हौँ,’ वाग्लेले भने ।

नयाँ शक्तिहरूको एकतासँगै पुराना दलका शीर्ष नेताहरू उकुसमुकुसको अवस्थामा पुगेका छन् । काँग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरू पनि आगामी निर्वाचनबारे नयाँ रणनीतिको गृहकार्य गरिरहेका छन् । कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल, हर्क साम्पाङको श्रम संस्कृति पार्टी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाललगायत शक्तिहरू एकता र नयाँ ध्रुवीकरणकै प्रक्रियामा छन् ।

रवि–बालेनसँगको एकता प्रयासमा कुरा नमिलेका उज्यालो नेपालका कुलमान घिसिङ र बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि छलफल जारी रहेको प्रलोपाका केन्द्रीय सदस्य राजमान तामाङले बताए ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार