काठमाडौं । पार्टीका तर्फबाट मन्त्री चयनमा एकलौटी निर्णय गरेको भन्दै नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको आलोचना भएको छ ।
सभापति देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं सहमहामन्त्रीद्वय बद्रि पाण्डे र जीवन परियारले मन्त्री चयनप्रति असन्तुष्टि जनाएका हुन् ।
पदाधिकारीलाईसमेत जानकारी नगराई मन्त्री सिफारिस गरिएको भन्दै आलोचना गरेका हुन् ।
सभापति देउवाको सिफारिसमा धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू मन्त्री बनेका छन् ।
संस्थापन इतर पक्षले तीन मन्त्रालय माग गरे पनि सभापति देउवाले २ जनालाई मात्रै सिफारिस गरेपछि कांग्रेसमा विवाद बढेको छ ।
बिहीबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा भएको प्रगतिबारे पनि जानकारी गराएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।
बैठक आज पुनः बस्ने छ ।
प्रतिक्रिया