काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।
२०७८ मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाललाई देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई महाधिवेशन लगत्तै केन्द्रीय समितिमा मनोनित गरेका देउवाले रिजाललाई १७ महिना रोके ।
महाधिवेशनमा सभापतिमा पराजित सभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला, सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा ०७८ पुसमै केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।
शेखर कोइराला प्यानलबाट पदाधिकारीमा चुनाव होरका मध्ये केन्द्रीय सदस्यमा मनोनित हुने रिजाल पहिलो हुन् । देउवा प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएर हारेकाहरु भने सबैले केन्द्रीय समितिमा प्रवेश पाइसकेका छन् ।
प्रतिक्रिया