काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय अनुशासन आयोगले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले पार्टीको सिद्धान्त, आचरण र पार्टी विधानको विपरीत हुने गरी सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमा अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको छ ।
केही नेताहरूले गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्तिहरू दिएको र तिनै कुराहरूलाई प्रतिगामी तत्त्वहरूले उछालिरहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोग अध्यक्ष शिव बहादुर देउजाले जारी गरेको विज्ञप्तिमा आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउन समितिले आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एउटा जीवन्त र क्रियाशील पार्टीमा आफ्ना फरक मतहरू हुन सक्छन् । आफ्ना फरक मत र विचारहरूलाई पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा राख्ने, छलफल र बहस चलाउने र त्यहाँबाट टुङ्गिएको निर्णयलाई इमानदारीपूर्वक पार्टी निर्णयको रूपमा कार्यकर्ता तथा जनतासम्म पुऱ्याउने कम्युनिष्ट पार्टीको सर्वमान्य लेनिनवादी साङ्गठनिक सिद्धान्त स्थापित नै छ । यही विधि र पद्धतिलाई कडाइका साथ पालन गर्न गराउनु माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्मका सबै नेताहरूको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।‘
प्रतिक्रिया