काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् ।
नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घको आयोजनामा काठमाडौमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन् ।
कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जोकोही गुटहरुकोसाथ छोड्न आग्रह गरे ।
उनले भने, ‘‘पार्टीलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाऔँ । एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाइ, त्यो दाइ सबै छोडिदिनुहोस् । हिजो को दाइसँग को लाग्यो सब बिर्सौँ अब । हिजो एउटा अवस्था थियो । अब कांग्रेसभित्र कांग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाइहरु रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट । जो दाइसँग लाग्छ दाइसँगै जाने । जो आउँछ त्यो सँगसँगै जाने । बाटो बनाउन सकियो भने पार्टी बाँच्यो ।’
उनले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको बेला कांग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।
प्रतिक्रिया