विरोध गरेर पार्टी ठूलो हुँदैन, युवालाई नेतृत्व दिन तयार छु: देउवा

शनिबार, २० जेठ २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष गरेका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।’ आफूले नेतृत्व लिएर पार्टीलाई र पार्टी निकट भातृ स‌ंगठनलाई बलियो बनाएको सभापति देउवाले दाबी गरे । उनले थपे, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’ नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने बताउँदै देउवाले सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन दिए । देउवाले आफ्नो कार्यशैलीप्रति असन्तुष्टलाई लक्षित गर्दै भने, ‘काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ ।’ उनले आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्ने भएकाले यसतर्फ सचेतसमेत गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार