देउवा र गगनलाई आग्रहः एकले अर्कोलाई खुइल्याएर दह्रो भइँदैन

विहीबार, ०७ असार २०८०
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन्। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका हुन्। उनले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोही पनि दह्रो नहुने बताए। उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गरे। उनले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताए। उनले भने, ‘म कसैले सघायो पनि भन्दिन। सहयोग नै नगरेको पनि भन्दिन। महामन्त्री पद पनि निर्वाचित सभापतिपछिको असाध्यै महत्वपूर्ण पद हो। सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ। अहिले कांग्रेसले मात्र विकल्प खोजेर हुँदैन। कांग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन्। त्यसैले कांग्रेस पार्टी पार्टीपनि बचाउने, विधान पनि बचाउने, संविधान पनि बचाउने, देश पनि बचाउने बाटोमा जानुपर्छ। एकले अर्कोलाई खुइल्याएर, कमजोर बनाएर नेपालको राजनीतिमा कोही नेताहरु दह्रा हुँदैनन्। सबैलाई अनुरोध गर्न चाहन्छु। पार्टी सभापतिलाई पनि। महामन्त्रीलाई पनि।’ उनले सत्तारुढ गठबन्धनका केही दलहरुले आफूहरुलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेका टिप्पणी गरे। उनले मोर्चामा आवद्ध दलहरुलाई पार्टी एकता नै गर्न सुझाव दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार