चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ : गगन

शनिबार, ०९ असार २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको धारणा राखे । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ । सरकार छोड्नपरे पनि नडराईकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने भन्दै महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ कि हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्‍यौं,’ थापाले भने, ‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ । तर चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौं ।' उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्टहरु एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने जनाए । ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार