कोशी प्रदेश तेस्रो अधिवेशन आज, पाउलान् मुख्यमन्त्रीले विश्वासको मत ?

विहीबार, १४ असार २०८०
विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आज बिहीबार दिउँसो १ बजे बस्दैछ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन बोलाइएको हो । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । त्यही कारण मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कोशीमा सत्तारुढ एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ । विपक्षी दलमध्ये नेपाली कांग्रेससँग २९, सभामुखबाहेक माओवादीसँग १२, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन् । नेपाली, माओवादी, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको पनि बहुमत पुग्दैन । गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्रै सांसद छन् । सत्ता र प्रतिपक्षसँग सामान सांसद रहेका कारण कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया रोचक बनेको छ । संसदबाट विश्वासको मत पाउन नसके मुख्यमन्त्री कार्की पदमुक्त हुने छन् । हालको सरकार हट्ने अवस्था आए गठबन्धनबाट नयाँ सरकारको नेतृत्व कसले गर्नेभन्ने टुंगो लागिसकेको छैन । गठबन्धनले पनि सरकार गठनका लागि बहुमत पुर्याउन सक्ने सहज अवस्था देखिँदैन । सभामुखले मत दिन पाउने अवस्था आउँदा मात्रै बहुमत पुग्छ । एमाले कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारका लागि संसदमा विश्वासको मत माग्ने र मत दिन कांग्रेसलगायतका दलसँग अनुरोध गर्ने निर्णय गरेको थियो । प्रदेशको औचित्य बचाएर राख्न र प्रदेशलाई स्थापित गर्नका लागि सबै दल एकजुट हुनुपर्नेमा एमाले अडिग छ । गठबन्धनमा आवद्ध दल आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनेमा केन्द्रित छन् । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ३१ गते संसदको दोस्रो एवं बजेट अधिवेशन अन्त्य गरिएको थियो । अल्पमतमा परेको सरकारले जेठ ३२ गते आध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार