मतदानका बेला किन बाहिरिए २ जना विपक्षी सांसद ?

शुक्रबार, १५ असार २०८०
विराटनगर । कोशी प्रदेशसभाबाट विश्वासको मत लिन मुख्यमन्त्री हिक्मतकुमार कार्की असफल भएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावका लागि शुक्रबार प्रदेशसभामा अधिकांश सांसद उपस्थित थिए । विपक्षी दलका दुईजना सांसद भने मत विभाजनका क्रममा उपस्थित भएनन् । सुरुमा प्रदेशसभा बैठकमा उनीहरु उपस्थित थिए । तर विश्वासको मतमा मत विभाजन प्रक्रियामा उनीहरु सहभागी भएनन् । प्रक्रिया सुरु हुनुअघि नै उनीहरु प्रदेशसभा बाहिर गइसकेका थिए । नेकपा (माओवादी केन्द्र) का नारायण बर्जुमगर र नेपाली कांग्रेसकी ममता तामाङ मतदान प्रक्रिया सुरु हुनुअघि नै बाहिरिएका हुन् । उनीहरुले स्वास्थ्य समस्याका कारण मतदान प्रक्रियामा भाग लिन नपाएको दाबी गरेका छन् । उनीहरुले यस्तो दाबी गरे पनि ‘फ्लोरक्रस’ गरी विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिन सक्ने आशंका भएपछि उनीहरुको दलले मतदान दिनबाट रोकेको स्रोतले उल्लेख गरेको छ । कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी नेतृत्वको प्रदेश सरकार ढलेको छ । प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । सांसद संख्याका आधारमा विपक्षमा ४५ मत पर्ने अनुमान थियो । जनता समाजवादी पार्टी (जसपा) र सभामुखबाहेक गठबन्धनसँग त्यति नै सांसद थिए । जसपाले भने तटस्थ बस्ने निर्णय गरेको थियो । त्यही कारण उक्त पार्टीकी एकमात्र सांसद निर्मला लिम्बूसंसद बैठकमा अनुपस्थित रहिन् । सरकारका पक्षमा सत्तारुढ एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसदले मत दिएका थिए । पुस २४ गते मा मुख्यमन्त्री बनेका कार्की आवश्यक मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार