गठबन्धनले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने

सोमबार, १८ असार २०८०
काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने गठबन्धनले निर्णय गरेको छ । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने र मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता थापालाई अघि सार्ने निर्णय गरेको हो । नेपाली कांग्रेस प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले मुख्यमन्त्रीका लागि थापाको नाममा सहमति भइसकेको र अन्तिम टुंगो लाग्ने चरणमा रहेको बताए । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बैठकमा कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा कांग्रेस र माओवादी केन्द्रको दाबी देखिएको तर ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउन सल्लाह दिएको जानकारी दिए । पाण्डेले भने, ‘अहिलेको गठबन्धनभित्र कोशीमा सबैभन्दा ठूलो दल कांग्रेस नै हो । कांग्रेसलाई मुख्यमन्त्री दिएपछि बाँकी मन्त्रालय कसलाई दिने ? कसरी विश्वासको मत जुटाउने ? त्यो क्रमशः अघि बढ्छ ।’ उनले बैठकमा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार असार २१ गते अपराह्न ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कांग्रेस वा माओवादी केन्द्र कसले लिने भन्ने विषयमा प्रदेशमा सहमति जुटिरहेको छैन । यसअघि कोशी प्रदेश सरकारको नेतृत्व आफूले गर्ने निर्णय नेपाली कांग्रेसले गरेको थियो । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको पदाधिकारी बैठकले गत आइतबार यस्तो निर्णय गरेको हो । सभापति एवं कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व गठबन्धन दलको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेस भएको हुनाले पहिलो पटक प्रदेश सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने निर्णय गरेको जनाइएको छ । प्रदेशसभामा कांग्रेसका २९ जना सभासद छन् । माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन् । यसैगरी नेकपा (एमाले) का ४० र राप्रपाका ६ जना प्रदेशसभा सदस्य छन् । ९३ सदस्यी कोशी प्रदेशसभामा मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन ४७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार