उद्धव थापालाई आज कोशीको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गठबन्धनको निर्णय

विहीबार, २१ असार २०८०
काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज साँझ ५ बजे थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न पुनः निर्णय गरेको बताए । ‘कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेको उल्लेख गर्दै उनले आज माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईलाई बोलाएर ५ बसेसम्म थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्ने भनेर पुनः निर्णय गरेर पठाएका बताए । कोशी प्रदेशको गठबन्धनमा कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखसहित १३, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सिट छ । शुक्रबार विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ । सभामुखसहित गणना गर्दा गठबन्धनका पक्षमा कोशी प्रदेशसभामा सांसद संख्या ४७ पुग्छ । उता, एमालेका ४० सांसद छन् भने उसलाई साथ दिंदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन् । सभामुखलाई समेत गणना गरेर बहुमत पुर्याउने सत्तारुढ दलहरुको रणनीति छ भने एमालेले त्यसो गर्नु असंवैधानिक हुने भन्दै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार