‘प्रधानमन्त्रीको अभिव्यक्तिको अपव्याख्या गरियो’

विहीबार, २१ असार २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। प्रधानमन्त्री दाहालले असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गइरहेको बताएका थिए । उक्त अभिव्यक्ति दिएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ । यसै विषयलाई लिएर बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलले संसद अवरुद्ध पारेका थिए । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले छोरी ज्ञानुलाई सिंहको दिल्लीस्थित घरमा बसेर उपचार प्रक्रिया अगाडि बढाएको र सोही क्रममा सम्बन्धले भावनात्मक एवं पारिवारिक रूप लिएको विज्ञप्तिमा उल्लेख छ। संसदमा प्रष्टीकरणको मौकासमेत नदिएर प्रधानमन्त्रीको भनाइको आसयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको प्रेस सल्लाहकार आचार्यले जनाएका छन् । संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यमा हेक्का राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार