नवौँ महिला विश्वकप फुटबल आजदेखि

विहीबार, ०४ साउन २०८०
काठमाडौँ । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा खेलिने छ । पहिलो दिन बिहीबार नै आयोजक अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ । कुनै पनि दुई राष्ट्रले संयुक्त रुपमा महिला विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो । दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गर्न लागेको पनि यो पहिलो पटक हो । यसअघि पुरुष विश्वकप पनि दुई छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका छैनन् । अस्ट्रेलियन एसियाली फुटबल महासंघको सदस्य हो । न्युजिल्यान्ड भने ओसेनिया फुटबल महासंघको सदस्य हो । यसैगरी महिला विश्वकपको नवौं संस्करणमा सहभागी टोलीको संख्या पनि बढाइएको छ । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । नवौं संस्करणमा भने सहभागी टोलीको संख्या बढाएर ३२ पुर्याइएको छ । महिला विश्वकपको नवौं संस्करणमा एसियाबाट ६ राष्ट्र सहभागी छन् । अफ्रिकाबाट चार राष्ट्र छनोट भएका छन् । उ त्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार राष्ट्र सहभागी हुनेछन् । दक्षिण अमेरिकाबाट तीन, ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी हुँदैछन् । थप तीन राष्ट्रको टुंगो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लागेको हो । नवौं विश्वकपको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा छन् । समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । यसैगरी समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा रहेका छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् । समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार