अलपत्र पारिएको खेल मैदानको काम १५ दिनभित्र थाल्न चेतावनी

शुक्रबार, १९ साउन २०८०
पाँचथर । काम थालेर बीचैमा अलपत्र पारिएको पाँचथर सदरमुकाम फिदिममा रहेको खेलमैदान पुनःनिर्माण गर्न फिदिम नगरपालिकाले अल्टिमेटम दिएको छ । नगरपालिकाले निर्माण कम्पनीलाई १५ दिनभित्र काम थाल्न अल्टिमेटम दिएको हो । लथालिङ्ग खेलमैदानले सदरमुकाम कुरुप बनाइदिएको छ । खेलकुद लगायतका गतिविधि समेत ठप्प भएका छन् । पटक पटक अनुरोध गर्दापनि काम अगाडि नबढेको भन्दै नगरपालिकाले निर्माण कम्पनीको ध्यानाकर्षण गराएको हो । राष्ट्रिय खेलकुद विकास समिति र ठेकेदार पिएस किरातेश्वर–मैनाचुली जेविलाई १५ दिनभित्र काम अघि बढाउन भनेको छ । ‘खेलमैदानको काम रोकिँदा खेलकुद, मेलामहोत्सव अवरुद्ध भएका छन् । विपदको बेला प्रयोग गर्ने खुल्ला ठाउँ पनि अभाव छ । सुविधासम्पन्न खेलमैदान निर्माणको काममा चरम लापरबाही भएको नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लले बताए । उनले भने ‘१५ दिनभित्रका काम अघि बढेन भने विकल्प खोज्छौँ ।’ सुविधासम्पन्न खेलमैदानका लागि २०७७ माघ महिनामा १० करोड ७९ लाखमा ठेक्का लागेको थियो । थपिएको म्याद पनि सकिदा खेलमैदान निर्माणको कामको प्रगति समान्य मात्र छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि निर्णय गरेर खेलमैदानको काम तत्काल सूचारु गर्न पत्रचार गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार