मोरङ क्रिकेट संघमा बाबु

शुक्रबार, २६ साउन २०८०
विराटनगर । युथ क्रिकेट क्लब (वाईसीसी) का पूर्व खेलाडी मोहम्मद साद बाबु जिल्ला क्रिकेट संघ मोरङको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संघको बिहीबार विराटनगरमा सम्पन्न जिल्ला क्रिकेट संघ मोरंगको पाँचौ अधिवेशनबाट अध्यक्षमा बाबुसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी शर्मा चौलागाई सर्वसम्मत भएको निर्वाचन समितिका सदस्य नवीन अर्यालले जानकारी दिए । सर्वसम्मत अध्यक्षमा चयन भएका बाबुले जिल्लाको क्रिकेटलाई सक्रिय बनाउन आप्mनो प्राथमिकता रहने बताए । ग्रास रुटसँगै क्लबस्तरीय खेललाई प्राथमिकतामा राख्दै जिल्लामा क्रिकेट प्रतियोगिता आयोजना गरिनेमा जोड दिदै बाबुले भने, ‘विगतमा भएका राम्रा कुरालाई साथ लिएर जिल्लामा क्रिकेटलाई थप सक्रिय बनाउनेतर्फ ध्यान केन्द्रित छ । क्रिकेटका लागि आवश्यक मैदान निर्माणका लागि निकायमा पहल गर्नेछौ ।’ अध्यक्षमा निर्वाचित बाबु तत्कालीन समयका तीव्र गतिका बलर हुन् । त्यसैगरी, कोषाध्यक्षमा सर्वसम्मत भएकी चौलागाइ पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । २०५३ सालमा स्थापित जिल्ला क्रिकेट संघ मोरंगका संस्थापक अध्यक्ष स्वर्गीय नरेश श्रेष्ठले तीन कार्यकाल जिल्लाको नेतृत्व सम्हालेका थिए । त्यसपछि चौथौ अध्यक्षका रुपमा विराटनगर बरगाछीका सूनिल पौडल भए । पौडेलपछि पूर्व अन्र्तराष्ट्रिय खेलाडी नविन घिमिरेले मोरंग क्रिकेटको नेतृत्व पाएका थिए । नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशन असोज पहिलो साता काठमाडौंमा हुँदैछ । क्यानको कोसी प्रदेशको पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरंग, उदयपुरमा शाखा संघ रहेको छ । अधिवेशनका क्रममा सबै जिल्लामा सर्वसम्मत पदाधिकारी चयन भएको छ । मोरङमा सदस्यतर्फ निर्वाचन भएको छ । ११ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको निर्वाचन समितिका सदस्य अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार