काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा आज स्विडेन र स्पेन प्रतिस्पर्धा गर्दै छन् ।
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो पौन २ बजे सुरु हुने छ ।
जारी विश्वकपमा स्विडेनले जायन्ट किलरको परिचय बनाएको छ । पाँचौँ पटक सेमिफाइनल खेल्न लागेको स्विडेनले नकआउटमा सन् २०११ को च्याम्पियन जापानसँगै महिला विश्वकपको सर्वाधिक चार पटकको विजेता अमेरिकालाई पाखा लगायो ।
स्विडिस टिमबाट सबैभन्दा लोभ लाग्दो प्रदर्शन गरिरहेकी गोलकिपर जेचिरा मुसोभिचलाई बलियो डिफेन्सको साथ छ । उनले अमेरिकाको ११ र जापानको तीन प्रहार बचाएको थिइन् । चार गोल गरिसकेकी डिफेन्डर अमान्दा इलेस्टेट गोल्डेन बुटको दाबेदार हुन् ।
जारी प्रतियोगितामा मात्र दुई गोल खाएको स्विडेनको सुरुवाती डिफेन्सलाई प्रशिक्षकले परिवर्तन गरेका छैनन् । सन् २००३ मा एक पटक फाइनल पुगेको स्विडेन सन् १९९१, २०११ र २०१९ मा सेमिफाइनलबाटै बाहिरिएको थियो ।
स्पेनको यात्रा पनि रोमाञ्चक छ । स्विडेनलाई पराजित गरे स्पेन पहिलो सेमिफाइनलबाटै फाइनल पुग्ने पाँचौँ देश बन्नेछ । स्पेनलाई विश्वकपमा नयाँ इतिहास बनाउने अवसर छ । सुरुवातका ६ विश्वकपमा स्पेन छनोट नै हुन सकेन । सन् २०१५ मा डेब्यु गरेपछि भने स्पेनको प्रदर्शन राम्रो बन्दै गइरहेको छ ।
सन् १९९७ को युरोपियन च्याम्पियन स्पेन त्यसपछि पहिलो ठूलो सेमिफाइनल खेल्दै छ । विश्वकपमा स्पेन र स्विडेनको पहिलो भेट हुनेछ । यसअघि सन् १९९७ को युरो समूह चरणमा स्विडेन १ - ० गोलले विजयी भएको थियो ।
आजको खेल जित्ने टोलीले फाइनलमा आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेलको विजेतासँग खेल्ने छ ।
प्रतिक्रिया