झापाा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गरेका छन् ।
नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्बदलीय सरकारको आह्वान गरेका हुन् ।
संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न आग्रह गर्दै उनले पार्टीका संस्थागत निर्णयहरुको पूर्ण पालना गर्दै पार्टीको नीति, शिद्धान्त र विचार अनुकुल रहेर मुख्यमन्त्रीको जिम्मेवारी संहाल्ने प्रतिबद्धता जनाए ।
उहाँले नेपाली कांग्रेसका सांसदहरुले प्रतिपक्षी भएर पाँच बर्षसम्म संसदको एककुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताए ।
अधिकतम जनताको हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले दुईपटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको बताए ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताए ।
कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको बताए ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सरकारको नेतृत्व गर्दैगर्दा प्रदेशलाई अधिकारसम्पन्न एवं प्रदेश सरकार आवश्यक छ भन्ने जनभावना जागृत गराउनेगरी कार्य गर्न सुझाव दिए ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।
प्रतिक्रिया