विराटनगर । कोशी प्रदेशको मन्त्रीपरिषद् विस्तारमा सकस हुने देखिएको छ । नेकपा एमाले कुनै पनि हालतमा नेकपा माओवादी लगायत केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूलाई कुनै पनि हालतमा सरकारमा सहभागी नगराऔँ भन्ने चाहन्छ । अर्कोतर्फ नेपाली कांग्रेस र मुख्यमन्त्री केदार कार्की समेतले संयुक्त सरकार बनाउनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कार्कीले झापामा भएको एक सार्वजनिक कार्यक्रममा सहमतिको संयुक्त सरकार बनाउने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीलाई एमालेलाई सरकारमा सहभागी नगराउन सत्तारुढ गठबन्धनका दलहरूको दबाब हुँदा नेकपा एमालेले भने यो सरकार कांग्रेस–एमालेको मात्रै भएको र सरकारको महत्त्वपूर्ण हिस्सा दाबी गर्दै आएको छ । यस्तो अवस्थामा दलहरूबिच मन्त्रीपरिषद् विस्तारका लागि उपयुक्त र निचोड निस्कने खालको छलफल हुन समेत सकिरहेको छैन ।
नेकपा एमालेका नेताहरू सरकार विस्तारमा जति ढिलो भयो त्यति नै शङ्का बढ्ने बताउँदै आएका छन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी भन्छन्,‘कोशी प्रदेशमा कांग्रेस र एमाले भन्दा बाहेकको गठबन्धन हुन सक्दैन ।’ त्यसो भएको खण्डमा हामी प्रतिपक्षमा बस्न तयार छौँ । यहाँ के गर्ने हो भन्ने कुराका बारेमा मुख्यमन्त्रीले निष्कर्ष दिनुपर्यो ।’
यता सरकारका प्रवक्ता समेत रहेका मन्त्री शमशेर राई सरकारले चाँडै पूर्णता पाउने दाबी गर्छन् । उनी भन्छन्,‘हामीले यही बिचमा सरकारलाई पूर्णता दिनेगरि तयारी गरिरहेका छौँ ।’ सरकारमा कुन कुन दललाई सहभागी गराउने भन्ने प्रश्नमा उनी भन्छन्,‘नेकपा एमाले समेतले पहिलेदेखि सर्वदलीय सरकार बनाएर सहमतिमा चलाऔँ भनेको अवस्था थियो । अहिले त्यही शिराबाट छलफल चलिरहेको अवस्था छ ।’
नेपाली कांग्रेसका आफुपक्षीय ८ सांसद र नेकपा एमालेका ३९ सांसदको सहमतिमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले गत कात्तिक १ गते कोशी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका थिए ।
विश्वासको मत पाउँदा उनले राप्रपा बाहेक कोशी प्रदेश सभामा भएका सबै दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र आफ्नो दलका अन्य २१ सांसद सहित ८६ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया