हुण्डी कारोबारको २२ लाख रूपैयाँसहित विराटनगरबाट बालक पक्राउ

मंगलबार, १४ कार्तिक २०८०
विराटनगर  ।  हुण्डी कारोबारको लगभग २२ लाख रूपैयाँ नगदसहित प्रहरीले मंगलबार विराटनगरबाट एक जना बालकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ शनिमन्दिर नजिकबाट २१ लाख ८७ हजार नेपाली रूपैयाँसहित १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर–६ घर भएका बालकले अवैध हुण्डी कारोबारको रकम ओसारपसार गरिरहेको सूचना कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलालाई पुगेको थियो ।  त्यसलगत्तै बालकलाई पक्राउ गर्न बास्तोलाले प्रादेशिक अनुसन्धान समूह (पीआईटी)को टोली परिचालन गरे । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको पीआईटीको टोलीले पक्राउ गरेपछि बालकको साथबाट स्रोत नखुलेको ठूलो परिणामको रकम बरामद भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारको रहेको खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका बालकले बोकेको कालो रंगको झोलाबाट रकम बरामद भएको जानकारी दिए । उनका अनुसार बालकको साथबाट एक हजार दरका एक हजार छ सय ८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद भएको छ । प्रहरीले बालकको साथबाट विभिन्न बैंकका चेक पनि बरामद गरेको छ । प्रहरीका अनुसार बलराम केसरीको नाममा रहेको कुमारी बैंकको चेकबुक, रन्जितकुमार साहको नाममा रहेको र उमेशकुमार भगतको नाममा काटिएको ८६ हजार आठ सय रूपैयाँ रकम उल्लेख भएको एनआईसी एसिया बैंकको चेक तथा विभिन्न मितिमा ग्लोबल आईएमई बैंकमा १६ लाख ६९ हजार पाँच सय रूपैयाँ जम्मा गरेको रसिद बरामद भएको हो । पक्राउ परेका बालकलाई बरामद भएको रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ । प्रहरीका अनुसार हुण्डी कारोबारीले अवैध रकम ओसारपसारका लागि बालकलाई प्रयोग गरेको देखिन्छ । पक्राउ परेका बालकले विराटनगरकै कुमारी बैंकसम्म पुर्याइदिन भनेर कुनै व्यक्तिले आफूलाई झोला दिएको प्रहरीसमक्ष बताएका छन् । ‘नचिनेको एक जना व्यक्तिले फोन गरेर कुमारी बैंकको गेटसम्म पुर्याइदिनु भन्दै झोला दिएपछि म बैंकतिर जाँदै थिएँ । ती व्यक्तिलाई म चिन्दिन,’ बालकलाई उद्रित गर्दै प्रहरी स्रोतले भन्यो, ‘झोलामा के थियोभन्ने पनि मलाई थाहा भएन । तर, बैंकतर्फ जाने क्रममा बीचबाटै प्रहरीले पक्राउ ग¥यो ।’ पक्राउ गरेर प्रहरीले खानतलासी गरेपछि मात्रै झोलाभित्र पैसा रहेको थाहा पाएको बालकले बताएका छन् । प्रहरीका अनुसार हुण्डी कारोबारीको अवैध रकम ओसारपसारको काम बालकले एक वर्षदेखि गरिरहेको पाइएको छ । बालकले पनि रकम ओसारपसार गरिदिएवापत आफूले मासिक १० हजार रूपैयाँ पाउने गरेको प्रहरीसमक्ष बताएका छन् । तर, रकम ओसारपसार गर्न लगाउनेलाई भने आफूले नचिन्ने उनले बताएको प्रहरीले जनाएको छ । ‘टेलिफोन सम्पर्कका आधारमा उनीहरु (अपरिचित व्यक्ति)ले लगाएको काम गर्दै आएको हुँ । त्यसवापत मासिक १० हजार रूपैयाँ पाउँथें,’ ती बालकको भनाइ उद्रित गर्दै प्रहरीका एक अधिकारीले भने, ‘झोला लिनलाई विराटनगरको जलजला चोक, शनिमन्दिर, बसपार्क, अस्पताल चोकलगायत विभिन्न स्थानसम्म बोलाउने गरेका थिए । उनीहरुले दिएको झोला सम्बन्धित बैंकसम्म पुर्याइदिने काम गरिदिन्थें ।’ प्रहरीका अनुसार ती बालकले आफूलाई फोन सम्पर्कका आधारमा अपरिचित व्यक्तिले दिने गरेको झोला विराटनगरकै एनआईसी एसिया, प्रभु, कुमारीलगायत आधा दर्जन बढी बैंकको गेटसम्म लगिदिने गरेको बताएका छन् । प्रहरीका अनुसार बैंकको गेटदेखि भने बालकको साथबाट अरु नै व्यक्तिले झोला जिम्मा लिएर लैजाने गरेको पाइएको छ । बालकले आफूलाई झेला जिम्मा लगाउने र जिम्मा लिने कसैलाई पनि नचिन्ने बताएका छन् । बालकले रकम बोकेर एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिने भरियाको काम मात्रै गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बालकलाई प्रयोग गरेर विराटनगरमा हुण्डी कारोबार गर्ने ठुलै गिरोह सक्रिय रहेको अनुमान छ । केही हुण्डी कारोबारीमाथि प्रहरीले निगरानीसमेत बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार