भक्का ‘साझा’बन्दै

आइतबार, २९ पुस २०८०
झापा । पूर्वी नेपालको झापासहित मोरङ र सुनसरीमा बसोवास गर्ने आदिवासी समुदाय ( राजवंशी) को चिसो मौसममा खाइने परिकारमध्येको एक हो भक्का । खासगरी यो परिकार हिउँदमा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्कालाई चटनीसँग खाने गरिन्छ । कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले विगत केही वर्षदेखि यो परिकारलाई राष्ट्रिय परिकारका रुपमा मान्यता दिँदै हरेक वर्ष पुस २९मा राष्ट्रिय भक्का दिवस मनाउन शुरु गरेका छन् । यसैक्रममा आइतवार झापाका विभिन्न स्थानमा कोच राजवंशी समुदायसहितले यो दिवस मनाएका छन् । बिर्तामोड, भद्रपुर, वाह्रदशीसहित विभिन्न स्थानमा यो दिवसका अवसरमा कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय भक्का दिवस मनाइएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विशेष कार्यक्रमको आयोजना गर्दै यो दिवस सम्पन्न गरिएको छ भने भद्रपुर र वाह्रदशीमा समेत भिन्नाभिन्नै कार्यक्रम गरिएको छ । राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई प्रवद्र्धन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको रुपमा स्थापित गर्ने उद्देश्यले झापामा सातौं राष्ट्रिय भक्का दिवस मनाइएको आयोजक समितिले जनाएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भक्का दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको थियो । गत २०७४ सालमा सामान्य रुपमा कनकाई नगरपालिका क्षेत्रमा पर्ने घैलाडुब्बास्थित राजवंशी संग्राहलयस्थलमा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले राष्ट्रिय भक्का दिवस मनाउने घोषणा गरेको थियो । अघिल्लो वर्षदेखि राजवंशी विकास केन्द्रिय समितिले हरेक वर्ष झापामा यो दिवसलाई विशेष प्राथमिकताका साथ मनाउँदै आएको छ । सातौं राष्ट्रिय भक्का दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा डोमालाल राजवंशी रंगशालामा १० हजार भन्दा धेरैको उपस्थिति रहेको आयोजकको दावी छ । भारतबाट राजवंशी भाषा संस्कृतिका संरक्षक अनन्त रोयका साथमा हजारौं भारतीय आगन्तुकहरुलाई निमन्त्रणा गरिएकोमा नेपालको प्रशासनिक प्रोटकलका कारण उनीहरु एकैसाथ कार्यक्रममा आउन नसकेको आयोजक समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिए । झापा, मोरङ र सुनसरीमा विशेषगरी बसोबास गर्ने राजवंशी समुदायको भाक्का दिवस अब राजवंशी समुदायको मात्र नरहेर आम नेपालीको साझा दिवस बन्न पुगेको आयोजक समितिको ठहर छ । राष्ट्रिय भक्का दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना पत्र पठाएका छन् । झापाका तीनवटा स्थानीय तह हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले दिवसको सन्दर्भ पारेर सार्वजनिक विदा दिएपछि भाक्का दिवस नेपालीहरुको साझा कार्यक्रम बन्दै गएको आयोजक समितिका सदस्य अर्जुन राजवंशीले बताए । कार्यक्रममा राजवंशी समुदायको मौलिक भेषभूषा, कला संस्कृतिको पनि प्रदर्शन गरिएको छ । भाक्का परिकारका लागि १ हजार ५ सय किलो चामलको पिठो र एक हजार २ सय किलो तरकारी प्रबन्ध गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा पर्यटन मन्त्री सुदन किराती आउन प्रचार गरिएको थियो । कार्यक्रमको उद्घाटनका लागि मन्त्री किराती नआएसँगै कोशी प्रदेशका पर्यटनमन्त्री गणेश उप्रेतीबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रस्तुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आएकी थिइन् । पश्चिम बंगालकी राय सन् २०२२को सारेगमपको विजेता हुन् भने २०१७को भ्वाइस अफ इण्डिया किड्सको उपबिजेता र २०१८को इण्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् । डोमालालकी छोरी सम्मानित राजवंशी समाज विकास समितिले सातौँ राष्ट्रिय भाक्का दिवसको अवसर पारेर स्व. डोमालाल राजवंशीकी छोरीलाई सम्मान गरेको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भाक्का दिवसको अवसर पारेर स्व. राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरेको संस्थाका अध्यक्ष अभय राजवंशीले बताए । स्वर्गीय डोमालाल राजवंशीको छोरीलाई सम्मान–पत्रसहित सम्मान गरिएको थियो । रंगशालासहित १४ बिगाह जमिन राजवंशी परिवारले दान गरेको थियो । कोशी प्रदेशको स्तरीय रंगशालाको रुपमा रहेको डोमालालमा प्रतिष्ठित फुटबल टुर्नामेन्टहरु हुँदै आएका छन् । जग्गादाताको रुपमा राजवंशी परिवारलाई सम्मान गरिएको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार