काठमाडौं - अन्नपूर्ण पोष्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा सोमबार प्रधानसम्पादन भण्डारीलाई उक्त पुरस्कार प्रदान गरे।
त्यस्तै सिन्धुपाल्चोकका पत्रकार माधव नेपाललाई अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार, अन्नपूर्ण पोस्ट्कै रौतहट संवाददाता फणिदेव महतलाई वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, रुकुमपूर्वका महेश केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, रामेछापकी यसिमा महतलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार र काभ्रेकी काजल तामाङलाई सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।
पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्ल्भ नेपालको निर्णायक मण्डलले उक्त पुरस्कृत हुनेहरूको नामावली छनोट गरेको थियो।
पुरस्कार ग्रहण गर्दै प्रधान सम्पादक भण्डारीले नेपाली पत्रकारिता अहिले आर्थिक, सामाजिक, राजनीतिक पक्षबाट चुनौतीको घडीमा भएको बताए। ‘विग्रिएको र बिथोलिएको परिस्थितिलाई संगाल्ने र व्यवस्थित बनाउने दायित्व तपाईँ हाम्रो नै हो। पत्रकारितालाई संग्ल्याउँछौं, परिस्थितिलाई अनुकुल बनाउछौं भन्नेमा म ढुक्क छु, उनले भने। उनले महान व्यक्तित्वको नामको पुरस्कारले पुरस्कृत गरेकोमा आभार प्रकट गरे।
प्रतिक्रिया