उहाँका अनुसार नेपाल र कोरिया सरकारबिच कोरियामा काम गरिरहेका श्रमिकले आफ्नो करार अवधिमा कम्तीमा पनि एक पटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जस अनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् ।
कोरियाली भाषा उत्तीर्ण भएका सबैलाई कोरियाले श्रमिकका रूपमा लैजाने सुनिश्चित भने हुँदैन । रोजगारदाताको छनोटमा नपरेका केही युवा भाषा परीक्षामा सफल भए पनि कोरिया जानबाट वञ्चित हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार इपिएस अन्तर्गत जाने नेपाली श्रमिकको औसत मासिक साढे तीन लाखदेखि पाँच लाख नेपाली रुपियाँ हुन्छ । कम्पनीको सुविधा र अतिरिक्त समय काम गर्ने अवसरमा नेपाली श्रमिकको आम्दानी फरक पर्ने इपिएसमार्फत कोरिया गएर काम गरेर फर्केका विकास पौडेलको अनुभव रहेको छ ।
इपिएसमार्फत दक्षिण कोरिया गएर चार वर्ष १० महिना काम गरेर फर्किएका कोरियामा काम गर्ने नेपालीले १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सम्भव भएको बताउँछन् ।
आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया